Sajhamanch Archive

नेपाली अलैंचीमाथि भारत र भूटानको चुनौती !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । उत्पादन र गुणस्तर दुवैमा विश्वको नम्बर एक नेपाली अलैंचीको विश्व बजारीकरणमा ध्यान दिन नसक्दा भारत र भूटानका उत्पादनले चुनौती दिन थालेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

विश्व बजारसम्म नेपाली व्यवसायीको पहुँच स्थापित हुन नसक्ता भारतीय ब्यापारीहरुलाई बेच्नु परेकाले विश्वकै गुणस्तरीय बस्तुले पनि उचित मूल्य र बजार पाउन नसकेको हो । अझ भूटानमा पनि अलैंची उत्पादन हुन थालेपछि नेपाली उत्पादन ओझेलमा पर्न लागेको व्यवसायीहरु नै बताउँछन् ।

गतवर्ष उत्पादन भएको चार हजार ७०० मेट्रिक टनमध्ये ८५ प्रतिशत बिक्री भएपनि अलैंची उत्पादक किसानले न्यून मूल्यमा बिक्री गर्नुपरेको महासंघको भनाई छ । महासंघले बुधबार पत्रकार सम्मेलन गरेर हरेक वर्ष अलैंचीको मूल्यमा गिरावट आए पनि गत वर्षको उत्पादन बिक्री गरी साढे ४ अर्ब रुपैयाँ नेपाल भित्राउन सफल भएको जनाएको हो ।

यसैबीच, महासंघले गत चैतमा सम्पन्न महाधिवेशबाट चयन भएको केन्द्रीय समितिमा रिक्त रहेको सदस्यहरुमा पदपूर्ती गरेको छ । महासंघको विधान बमोजिम ३ जनालाई केन्द्रीय सदस्य तथा २१ जनालाई सल्लाहकारमा मनोनयन गरेको महासचिव सुवास भट्टराईले जानकारी दिएका छन् ।

केन्द्रीय समितिमा मनोनयन गरिएका व्यवसायीहरुमा बिर्तामोडका गणेश सुवेदी, होम सिटौला र राधादेवी बोहरा रहेका छन् । यस्तै सल्लाहकारहरुमा दिनेशकुमार मित्तल, श्यामसुन्दर अग्रवाल, पवनकुमार अग्रवाल, दिपक नेपाल,मित्र काफ्ले, नरेन्द्रकुमार खड्का लगायत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *