महेन्द्ररत्नमा प्रधानाध्यापकको बल मिच्याइँ, अभिभावक आन्दोलित
Published:
by .बिर्तामोड । लक्ष्मी मावि अर्जुनधारा ६ बाट विभिन्न आरोप लागेर काज सरुवा गरिएका शिक्षक घनश्याम डाँगीलाई महेन्द्ररत्न मावि बिर्ताबजारका अभिभावकले कुनैपनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।
विद्यालय व्यवस्थापन समिति, बिर्तामोड नगर शिक्षा शाखा, नगर सरकार, शिक्षक अभिभावक संघजस्ता निकायको सहमति र स्वीकृति बिना गत बुधबार सो विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले डाँगीलाई हाजिर गराएकोले अभिभावक आन्दोलित बनिरहेका छन् ।
विद्यालय व्यवस्थापन समिति, नगर शिक्षा समिति र अभिभावक संघको सहमति विना प्रधानाध्यापक खरेलले डाँगीलाई हाजिर गराएको भन्दै महेन्द्ररत्न माविमा गत बिहीबार तालाबन्दी गरिएको छ ।
विद्यालयका अभिभावकहरुले आज पत्रकार सम्मेलनमार्फत् नमूना विद्यालयको रुपमा सञ्चालन गर्ने अवसर पाएको महेन्द्ररत्न माविलाई अझ सुशासनयुक्त बनाउन र गुणस्तरीय शिक्षा दिन डाँगीजस्ता विवादित मान्छेलाई शिक्षक स्वीकार्न नसकिने अडान सुनाएका हुन् । प्रधानाध्यापक खरेलले बलमिच्याइँ गरेर अख्तियार दुरुपयोग गरी डाँगीलाई हाजिर गराएकाले उनको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको पनि बताइएको छ ।
शिक्षक सेवामा रहने व्यक्तिको चरित्र राम्रो हुनुपर्ने, अनुशासित हुनुपर्ने र मात्र बालबालिकामा सकारात्मक छाप रहने औंल्याउँदै अभिभावकहरुले डाँगीकी श्रीमती माया गौतम शिक्षणमा लगनशील रहेको बुझेरै सरुवाका लागि व्यवस्थापन समितिले सर्वसम्मत निर्णय गरी सहमति दिएको पनि प्रष्ट पारे ।
तर श्रीमतीलाई सहमति दियौं भन्दैमा कलंकित शिक्षकलाई हाम्रो विद्यालयमा भित्राएर डम्पिङ साइड बनाउने कुरामा हामी सहमत छैनौं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शिवाकोटीले अडान दोहोर्याए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवाकोटी, सदस्य श्रीप्रसाद सिटौला र शिक्षक अभिभावक संघका अध्यक्ष छबिलाल विश्वकर्माको अग्रसरतामा पत्रकार सम्मेलन गरिएको हो ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा शिक्षक डाँगीको काज फिर्ता गरिनुपर्ने, नेपाल शिक्षक संघका अध्यक्षसमेत रहेका शिक्षक नेत्रप्रसाद खरेललाई अन्यत्र सरुवा गर्नुपर्ने, प्रधानाध्यापक खड्गप्रसाद खरेलले पदबाट राजीनामा दिनुपर्ने तथा नमूना स्कूलको अवधारणा अनुसार शिक्षण हुनुपर्ने माग राखिएको छ ।
Comments