Sajhamanch Archive

मेलमिलाप समितिबाट भएका निर्णय हाँसीहाँसी स्वीकारिन्छ

Published: in विचार/ब्लग, समाज, स्थानीय तह, by .

स्थानीय तहमा न्यायिक समिति गठन भएपछि प्रहरीकहाँ पुग्ने र अदालतमा उजुरी दिने मानिसहरुको संख्या घटेको छ । स्थानीय सरकार गठन भएसँगै न्याय सम्पादनको काम पालिकाका उपप्रमुख वा उपाध्यक्षले गर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (ख) मा अधिकार प्रत्यायोजन गरेअनुसार न्याय सम्पादन गर्न उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भई प्रायः सबै स्थानीय तहमा काम भइरहेको छ ।

न्याय सम्पादन गर्न, छिटो छरितो न्याय दिन र कागजी प्रक्रियामा मात्र नअल्झिन वडास्तरमा मेलमिलाप समिति गठन गर्ने प्रावधान छ । सत्यतथ्य न्याय दिन, कसैलाई काखा र कसैलाई पाखा नगरी निष्पक्ष काम गर्न, राजनीतिक दबावको पर्वाह नगरी काम गर्न वडास्तरको मेलमिलाप समिति सफल पनि बन्दै गएको छ । सोही स्वरुपमा एक वर्ष पहिले साउन २७ मा गठित मेचीनगर नगरपालिका वडा नं. ६ को मेलमिलाप समिति पनि एक हो ।

मेरो संयोजकत्वमा गठन भएको मेचीनगर ६ वडा कार्यालय तथा मेलमिलाप समितिमा एकवर्षको अवधिमा लेनदेनका सबैभन्दा धेरै १६ वटा उजुरी परेका छन् । यस्तै, गाली बेइज्जतीका ३ वटा, जग्गा किचलो उजुरी ३ वटा, ढल निकास उजुरी ३ वटा, बाटो उजुरी दुईवटा, घर खाली उजुरी एउटा, भागबण्डा उजुरी एउटा गरी जम्मा २९ वटा मुद्धा परेका थिए । सबै मुद्धाहरु छलफलकै माध्यमबाट मेलमिलाप गराइएको छ ।

उक्त मेलमिलाप कार्यान्वयन भए नभएको समेत अनुगमन गर्ने गरेका छौं । थोरै मात्र कार्यान्वयन नभएको पाइएको छ । मेलमिलाप समितिमा परेका मुद्धाहरु इजलास बसेर निवेदन माथि फैसला गर्नु परेको छैन र गर्नु पनि हुँदैन । जति निवेदन परे दुवै पक्षको बहस छलफलबाट निस्केको परिणाम अनुसार नै मेलमिलाप हुने गरेको छ । सबै निवेदनमाथि छलफल गर्दा मेलमिलाप समितिले वडाध्यक्षसमेतको उपस्थिति गराएको छ । समितिको निर्णय कसैलाई पनि चित्त नबुझी कालो मुख लगाएर हिड्ने र ‘म मिल्दिन, न्यायालय अदालत जान्छु’ भन्ने आवाज सुन्नु परेको छैन । सबै खुसी भएकै अनुभव गरेका छौं ।

प्राकृतिक देन नै होला, धेरैका पति पत्नी अनुहार मिल्ने वा व्यवहार मिल्ने आदि भएजस्तै यो वडाको मेलमिलाप समितिमा असाध्यै मित्रता छ । हरिप्रसाद पौडेलले धेरै वर्ष कर्मचारी भएर गरेको कामको अनुभवका साथै पेशाले पनि कानून व्यवसायी रहेको हुँदा छलफल गर्न र निर्णय निकाल्न असाध्यै राम्रो भएको छ । अनुभवबाट खारिएका बहिनीहरु चन्द्रा विमली शाही, बिटु गुरुङ्ग, कमला दाहालको साथ पाउँदा मेलमिलापमा सहज अनुभव भएको छ ।

मेलमिलाप समितिलाई काम गर्न सहज होस्, गल्ती नहोस् भनेर न्यायिक समितिको तर्फबाट २०७४ कार्तिकमा ८ दिने तालिम प्रदान गरिएको थियो । यसैलाई पुनर्ताजगी दिलाउन गत असार २२ र २३ गते कानून व्यवसायी कविता शर्माले प्रशिक्षण दिनु भएको छ ।

मेलमिलाप समितिमा तीन वा पाँच जना सदस्य हुनुपर्ने र ज्येष्ठताका आधारमा संयोजक तोक्नुपर्ने प्रावधान रहेको छ । वडा मेलमिलाप समितिले आफैं कुनै निर्णय गर्दैन । मेलमिलापको वातावरण तयार गर्छ र मेलमिलाप गराउँछ । समितिले कागजी प्रक्रिया हेरेर मात्र काम गर्दैन, दुवै पक्षका कुरा सुन्ने र झगडा हुनुको कारण पत्ता लगाउँछ । कतै कहीँ काम गर्दा गल्ती भए सुधार गरी सच्याएर अघि बढ्न सल्लाह दिन्छ । मुद्दा माथि छलफल हुँदा कुनै पक्ष आवेशमा आउने र अनियन्त्रित भए नियन्त्रण गर्दछ ।

यो समितिले न्याय सम्पादनका लागि सल्लाहकारको भूमिका निभाउने, सहजकर्ताको काम गर्ने र निर्णय गर्ने अधिकार स्वयम् उहाँहरुलाई नै दिने मिलापकर्ता मात्र हो । समितिमा रहने व्यक्तिहरुले नयाँ विचार दिने र सकारात्मक सल्लाह दिने भएकाले सबैभन्दा पहिलो न्याय दिने संस्था भनेको मेलमिलाप समिति नै हो । समितिको व्यवहारमा निष्पक्षता र तटस्थता हुनु पर्नेछ । यसले गोपनियता कहिल्यै भंग गर्दैन । सबैसँग विश्वासको वातावरण बनाउँछ । पारदर्शी भएर काम गर्दछ । पक्ष वा विपक्षसँग एकै ठाउँमा बसेर खाने गर्दैन । कुनै एक पक्षसँग बसेर खाँदा त्यसले अनावश्यक शंका जन्माउँछ ।

न्याय सम्पादनमा वडाध्यक्ष ललितबहादुर तामाङ्गको असाध्यै महत्वपूर्ण भूमिका छ । धेरै मुद्दाहरु त एकल प्रयासमा समेत उहाँले मिलाउनु भएको छ । साथै नगर कार्यपालिका सदस्य लक्ष्मी तामाङ्ग, जनप्रतिनिधि श्री राजकुमार श्रेष्ठ, देवीप्रसाद सुवेदी, सावित्रा विश्वकर्मालगायत कर्मचारीबाट पनि मेलमिलाप समितिलाई धेरै सहयोग प्राप्त भएको छ । मेलमिलाप र न्याय सम्पादनमा सहयोग गर्ने सबैलाई धेरैधेरै धन्यवाद छ ।

(लेखक सिटौला मेचीनगर नगरपालिका वडा नं. ६, वडा मेलमिलाप समितिका संयोजक हुनुहुन्छ ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *