Sajhamanch Archive

धान रोप्ने सिजनमा चउर गोड्दै महिला

Published: in खेलकुद, मुख्य समाचार, by .

बिर्तामोड । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड ३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा छैन । उनका हात चाउरका झार उखेल्न व्यस्त छन् । उनीजस्तै अन्य सातजना महिलाले खुला चउरको झार गोडेको देख्नहरु अचम्ममा पर्छन् ।

खेतीपातीको यो मौसममा उनीहरुलाई धानबालीको भन्दा बढी पीर चउरको पर्नुको कारण हो, नेपालकै आकर्षक फुटबल मैदान डोमालाल राजवंशी रङ्गशालाको संरक्षण । प्रतियोगिता सकेर अर्को संस्करण सुरु नहुन्जेलसम्म अरुतिरका खेल मैदानलाई संरक्षणमा खासै चासो दिइँदैन । तर, बिर्तामोड ३ बिर्ताबजारमा रहेको सो रङ्गशालाको स्वरुप नबिग्रियोस् भनेर संरक्षण समितिले मध्य बर्खामा समेत काम गरिरहेको छ ।

बिहान ७ बजे नै मैदान आइपुग्ने खनाल मैदान बिगार्ने झार उखेल्नमै व्यस्त हुन्छिन् । उनी भन्छिन्, ‘हाम्रो काम भनेको दिनभरि पाटे र अन्य झार उखेलेर फ्याल्ने हो ।’ उनीहरु तीन वर्षदेखि यसरी नै बर्खाका बेला मैदानमा जागिरे बनेका छन् । झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिता हुने सो मैदानको अवस्था जीवन्त राख्नका लागि समितिले काम गर्ने गरेको बिर्तामोड ३ की मुना भट्टराईले बताइन् । उनी पनि दैनिक झार उखेल्नमै खटिन्छिन् ।

मैदानको आकर्षण नघटोस् भनेर समितिले काम गरिरहेको भए पनि आर्थिक रुपमा कहीँबाट सहयोग प्राप्त नभएको समितिले जनाएको छ । निजी तथा सरकारी क्षेत्रबाट सहयोग नपाए पनि संरक्षण समितिले काम गरिरहेको छ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा यो कामको प्रशंसा गर्छन् । उनी खेलकुद विकास समितिमार्फत चउरको संरक्षणमा जुट्ने बताउँछन् ।

तर, डोमालाल राजवंशी रङ्गशाला संरक्षण समितिका संयोजक जलकुमार गुरुङले समयमै झार नगोड्ने हो भने प्रतियोगिता गर्ने बेलामा समस्या हुने बताए । उनले मैदान संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको बताए । ‘यसरी झार उखेल्ने अस्थायी काम हो’, गुरुङले भने, ‘यसको दीर्घकालीन योजना हुनैपर्छ ।’

झापाकै गौरवका रुपमा रहेको यो रङ्गशालालाई बाचइराख्न जरुरी रहेको उनी बताउँछन् । मैदान व्यवस्थापनको खर्च भने समितिले आफैं जुटाउँदै आएको छ । स्थानीय सरकारलाई संरक्षणमा सहयोग गर्न आग्रह गरे पनि वास्ता नगरेको उनको गुनासो छ । यो मैदानलाई देशकै उत्कृष्ट बनाउन सबै लाग्नुपर्ने उनको धारणा छ ।

मैदानको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको पनि रहेको बिर्तामोड ३ का वडा अध्यक्ष भोजराज सिटौला बताउँछन् । मैदानको नियमित व्यवस्थापनमा नगरपालिका र वडा कार्यालयले आगामी दिनमा सहयोग गर्ने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *