नेकपा उपाध्यक्षमा वामदेव, प्रदेश १ को सह-इन्चार्जमा खरेल र राई
Published: (Updated: )
by .काठमाडौं । पार्टी एकीकरण अघि नेकपा एमालेमा उपाध्यक्ष रहेका वामदेव गौतमलाई नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष बनाइने भएको छ । आजको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका हुन्।
अध्यक्षद्वयले उपाध्यक्ष पद सिर्जना गरेर त्यसमा गौतमलाई मनोनित गर्ने प्रस्ताव सविचालयले पनि स्वीकारेको छ। वामदेवले पनि पार्टीको उपाध्यक्ष पदमा बस्न तयार भएको जनाएका छन्।
अध्यक्षद्वयको उक्त प्रस्तावलाई आगामी स्थायी समितिको बैठकले पास गरेसँगै वामदेव दुई अध्यक्षपछि एक उपाध्यक्ष हुनेछन् । अहिले पार्टीमा दुई अध्यक्ष र महासचिवको व्यवस्था गरिएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीले सातवटै प्रदेश कमिटीमा सह-इन्चार्ज थप गरेको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा दुई–दुई सह-इन्चार्ज थप गरेको हो।
थपिएका सह-इन्चार्जहरुमा प्रदेश १ शेरधन राई र नरेश खरेल, प्रदेश २ नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश ३ हितमान शाक्य र काशीनाथ अधिकारी रहेका छन् ।
यस्तै, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, प्रदेश ५ वैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जमा खगराज भट्ट र भानुभक्त जैसी चयन भएका हुन् ।
प्रदेश १ को सह-इन्चार्ज तोकिएका राई प्रदेशका मुख्यमन्त्री पनि हुन् भने गण्डकी प्रदेशका सह-इन्चार्ज बनेका गुरुङ मन्त्री हुन्।
नेकपाको आज बसेको सचिवालय बैठकले ३३ विभाग प्रमुखको टुंगो लगाएको छ।
Comments