Sajhamanch Archive

सिम्रिक साकोसमा कर्मचारीसँग वार्षिक बजेटमाथि समीक्षा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा आफ्ना कर्मचारीहरुका लागि उत्प्रेरणामुलक समीक्षा गोष्ठी गरेको छ ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आर्थिक वर्ष २०७५/०७६ का लागि निर्धारित लक्ष्य र भए गरेका वित्तीय प्रगतिको समीक्षा गरिएको हो । त्यस्तै चालू आर्थिक वर्षका लागि कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका एवम् वित्तीय सूचांक पनि प्रस्तुत भएको छ ।

समीक्षा गोष्ठीमा बोल्दै अध्यक्ष बस्नेतले सिम्रिक साकोसले गत आर्थिक वर्षका लागि निर्धारण गरेको लक्ष्य ९९ प्रतिशत पूरा भएको सुनाए । उनले संस्थाको सदस्य विस्तार, निक्षेप संकलन, कर्जा लगानी र नाफा आदि शीर्षकमा लक्ष्यभन्दा राम्रो प्रगति गरे तापनि कर्जा अशुलीमा ९९ प्रतिशतमात्र सफलता हात लागेकाले समग्र सूचकांक घटेको प्रष्ट पारेका छन् ।

‘आर्थिक वर्षको सुरुमा हरेक संस्थाका सञ्चालकहरुले गतिलै सपना देख्नुपर्छ, हामीले पनि देखेका छौं । अब यो सपनालाई विपनामा परिणत गरी पूरा गर्ने कार्य कर्मचारीहरुले गर्नुपर्छ । सपना अर्थात् लक्षित उद्देश्य पुरा गर्नका लागि तपाईंहरुलाई के कस्ता साधन र औजार चाहिन्छन्, हामी उपलब्ध गराउँछौं’ अध्यक्ष बस्नेतको भनाई छ ।

संस्थाले बाह्य ऋण नलिई सदस्यको वित्तीय आवश्यकता पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता दर्शाउँदै अध्यक्ष बस्नेतले अब संस्थाका १५० भन्दा बढी कर्मचारीहरुले निक्षेपमा वृद्धि गरी बाह्य ऋण मुक्त बनाउन लाग्नुपर्ने आव्हान गरे ।

समीक्षा गोष्ठीका अर्का वक्ता संस्थाका सचिव सुवास भट्टराईले भद्रपुरको सनसाइन बचत तथा ऋण सहकारी संस्था र सिम्रिक साकोसबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको अवगत गराए ।

उनले सिम्रिकका १४ वटा सेवा केन्द्र सञ्चालनमा रहेकोमा सनसाइन पनि एकीकरणमा आएपछि अब १७ वटा सेवा केन्द्रबाट आफ्ना सदस्यहरुले सेवा पाउने बताए । विगतमा विभागीय प्रमुख र सञ्चालकहरु बसेर वार्षिक बजेट बनाउने गरिएको सुनाउँदै सचिव भट्टराईले यस वर्षदेखि सेवा केन्द्रबाटै वार्षिक बजेट निर्धारण गर्ने नीति लिएको अवगत गराए ।

सिम्रिक साकोसकै हाराहारीको वित्तीय कारोबार गर्ने सहकारीको तुलनामा आफ्नो संस्थाले कर्मचारीलाई दिएको पारिश्रमिक तथा सुविधाहरु न्यायोचित रहे पनि चालू आर्थिक वर्षका लागि बेसिक तलबको २० प्रतिशत थप गर्ने प्रस्ताव साधारणसभामा लगिने पनि उनले अवगत गराए ।

विभागीय प्रमुख विजय बस्नेतले सञ्चालन गरेको कार्यक्रममा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले कुनै पनि संस्थाका कर्मचारीहरु त्यसका मेरुदण्ड भएकाले उनीहरुको सल्लाह लिएर कार्यक्रमहरु बनाउँदा कार्यान्वयनमा सहजता आउने सुझाव दिए ।

समीक्षा गोष्ठीमा इन्जीनियर तेजप्रकाश भट्टराई, संस्थाका सञ्चालक सदस्य इन्द्रबहादुर कार्की, लेखा समिति सदस्य ओमराज राई, शिक्षा उपसमिति सदस्य गणेशप्रसाद सुवेदी लगायतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *