झापामा बोटलिङ गरिएका अधिकांश पिउने पानी न्यून गुणस्तरका
Published: (Updated: )
by .बिर्तामोड । पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशतसम्म हुनुपर्नेमा झापाका केही उद्योगले उत्पादन गरेको पानीमा पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको छ ।
आज बिर्तामोडमा विभिन्न २० ब्राण्डका पानीको नमूना संकलन गरी पिएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो । ‘पिउने पानीको गुणस्तर: अवस्था र नियमनको आवश्यकता’ विषयक कार्यशालास्थलमै बजारबाट संकलित पानीका बन्द बोटल खोलेर पिएच परीक्षण गरिएको हो ।
बिर्तामोडबाट उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित माईधाम नामक पानीमा पिएचको मात्रा न्यून पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले बताए । उनले स्वास्थ्यका दृष्टिकोणले उक्त ब्राण्डका पानी पिउन अयोग्य रहेको समेत अवगत गराए ।
बिर्तामोड खानेपानीसहित विभिन्न १८ ब्राण्डका पानी झापाबाट उत्पादित र अन्य दुईवटा झापा बाहिर उत्पादन भई झापाको बजारमा आउने पानीको समेत पिएच परीक्षण गरिएको हो ।
संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यशालामा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंको सहभागिता थियो । पानी परीक्षणको रिपोर्ट आएपछि उनले उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्ने पानी उद्योगलाई कारवाहीको दायरामा ल्याउनै पर्ने बताइन् ।
राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यशालामा चार बुँदे साझा प्रतिबद्धता गरिएको छ । उपभोक्ता हित संरक्षणका लागि पिउने पानी गुणस्तरीय, स्वस्थ हुनुपर्ने यथार्थ आत्मसात गर्दै स्वस्थ र गुणस्तरीय पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।
त्यस्तै उपभोक्ता हित संरक्षणका लागि नियमित रुपमा पिउने पानी उत्पादन र बिक्री वितरणको अनुगमन तथा नियमन गर्ने प्रतिबद्धता समेत नियमनकारी निकायको तर्फबाट व्यक्त गरिएको छ । उपभोक्तावादी संस्थाले स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय गरी उपभोक्ता हित संरक्षणका लागि सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
के हो पिएच ?
पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पिएच भनिन्छ । नेपाल गुणस्तरले ६ देखि ८.५ पिएचसम्मको पानीलाई पिउनयोग्य भनेको छ । तर, अन्तर्राष्ट्रिय गुणस्तरले ६.५ देखि ८.५ पिएचसम्मको पानीलाई पिउनयोग्य मानेको छ ।
पानीमा ७ पिएच सबैभन्दा उत्तम मानिन्छ । ६ पिएचभन्दा तलको पानीलाई अम्लिय अर्थात् एसिडिक भनिन्छ । ८.५ पिएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ ।
नेपालमा उत्पादित धेरै पानीमा पिएचको मात्रा न्यूनतम्भन्दा कम रहेको बताइन्छ । ६ पिएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घरोग लाग्ने विज्ञहरुले बताएका छन् ।
कुन पानीको पिएच कति ?
मंगलबार बजारबाट २० ब्राण्डका पानीको नमूना संकलन गरी डिजिटल प्रविधिबाट पिएचको मात्रा मापन गरिएको थियो । जसमा सबैभन्दा उत्कृष्ट सुनमाई झरना पानीमा ७.३ पिएच र सबैभन्दा कम माइधाम पानीमा ५.६ र शाश्वत पानीमा पिएचको मात्रा ५.६ मात्र रहेको पाइएको छ।
त्यस्तै नमूना लिइएका अन्य पानीहरु क्रमशः किन्ले ७.१, मकालु ६.७, बेल्ली ६.७, हिमालयन ६.५, प्युरिकम ६.५, बेला ६.४, कञ्चन ६.४ पिएच पाइएको छ ।
यस्तै, एक्वामेरी ६.२, ओसिस जल ६.२, इस्टस्प्रिङ ६.२, डियु ड्रब्स ६.२, जिरो एक्वा ६.२, कनकाई ६.१, लाइफलाइन ६.१, तृष्णा ६, लाइफ केयर ५.७, रहेका छन् ।
बिर्तामोड खानेपानी तथा उपभोक्ता संस्थाले वितरण गर्ने पानीमा पिएचको मात्रा ६.८ पाइएको छ ।
सरोकारावालाको सुझाव :
सामाजिक, राजनीतिक एवम् पालिकाका सरोकारवालाले स्वस्थ र गुणस्तरीय पानी पिउन उपभोक्तालाई आग्रह गरेका छन् । उनीहरुले व्यापारको नाममा उपभोक्ताको स्वास्थ्य माथि खेलबाड नगर्न उत्पादकहरुलाई सुझाएका छन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं, मेची बहुमुखी क्याम्पस रसाइन शास्त्रका उपप्राध्यापक जयनारायण मित्रुका, खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, अधिवक्ता खगेन्द्र खरेलले आ–आफ्ना धारणा राखेका थिए ।
यस्तै, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ लगायतले विषयगत प्रस्तुति राख्दै उपभोक्ता सचेतनामा जोड दिए ।
Comments