Sajhamanch Archive

सहकारी मर्जरमा लैजाउँ, कोपोमिस कार्यान्वयन गरौं : मन्त्री पद्मा अर्याल

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताएकी छन् । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्रालयले मर्जर अभियान थालेको बताउँदै क्षेत्र, भेग, कामको प्रकृति मिल्ने सहकारीका बीचमा एकता गर्नु उपयुक्त हुने मन्त्री अर्यालको सुझाव छ । सहकारी अभियन्ताहरूकै पहलमा सहकारी संस्थाहरूले मर्जर अभियान अगाडि बढ्नुपर्ने सुझाव दिँदै मन्त्री अर्यालले भनिन्, ‘तपाइँहरुकै पहलमा संस्था मिलाएर जाउँ भन्ने हिसाबले हामी अगाडि बढेको हो, भरोसा तपाइँहरुकै छ ।’

नेपालमा १०–१२ हजार सहकारी संस्था भए पुग्ने बताउँदै मन्त्री अर्यालले उल्लेखित संख्यामामात्र सहकारी संस्था भएमा देश हराभरा हुने र सरकारले सोचेको समृद्धिको अभियान साथ मिल्ने विश्वास व्यक्त गरिन् । सहकारीको संख्या घटाउन मर्जरमा जानैपर्ने भन्दै मन्त्री अर्यालले तर यस अभियानलाई सरकारले जर्बजस्ती मर्जरमा जाउ भन्न भने नसकिने औंल्याइन् ।

‘मर्जर गर्ने भनेको मन मिल्नेसँग हो, कामको प्रकृति, स्वभाव, स्वरुप, चरित्र मिल्ने, कार्यक्षेत्र मिल्ने सहकारी बीचमा मर्जर गर्ने हो’ मन्त्री अर्यालले थपिन्, ‘सहकारी संस्थाहरुलाई माथिबाट तपाइँहरु मर्जरमा जानुपर्छ भनेर घोक्रेठ्याक लगाएर हुँदैन, मिल्ने वातावरण बनाउने हाम्रो काम हो । त्यो वाताबरण हामी बनाउँछौं, तपाईहरु आफैँ स्वतस्फूर्त रुपमा मिलेर आउनुहोस् ।’

 

मन्त्री अर्यालले आफ्नो मन्तब्यमा भनेकी छन्, सहकारी संस्थाहरू उत्पादनमा जानुपर्ने अनिवार्य भइसकेको छ । सहकारी संस्था पनि उत्पादनमा जानुपर्ने र बजारीकरणमा जान आवश्यक रहेको छ । अबको ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान आवश्यक रहेकोले सहकारी क्षेत्रबाट रोजगारी बढाउन पनि आवश्यक भइसकेको छ ।

‘अब सहकारीले उत्पादन मै जोड दिने हो । एउटा सहकारीले अनिवार्य रुपमा एउटा उद्योग, व्यवसाय गर्नुपर्छ । व्यवसायमा नलागेर धरै छैन । यसका लागि पनि सहकारीको मर्जर अभियान थालेका हौं । मर्जर अभियानलाई तीब्र ढंगले अगाडि बढाउँ’ मन्त्री अर्यालले अभियन्ताहरुको ध्यानाकर्षण गराइन् ।

सहकारी अभियानले केही नयाँपन, नयाँ अभ्यासको खोजी गरेको भन्दै उनले सरकार त्यही अभियानमा लागेको पनि प्रष्ट पारिन् । हिजोको सहकारी र आजको सहकारीमा धेरै फरक छ भन्दै मन्त्री अर्यालले करोडौं रकम खेलाउने सहकारी आजको आवश्यकता अनुसार अगाडि बढ्न आवश्यक छ ।

सहकारी अभियानमा केही संस्थाको बदमासीका कारण प्रश्नचिन्ह उठेको भन्दै उनले त्यही समस्यालाई समाधान गर्न कोपोमिस प्रणाली लागू गरिएको पनि अवगत गराइन् । मन्त्री अर्यालले भनिन्, ‘कुन संस्थामा के छ भनेर हेर्न कोपोमिस प्रणाली लागू गरिएको छ । यो कसैलाई कारबाही गर्न होइन, सुशासन कायम गर्न, पारदर्शी बनाउन कोपोमिस सफ्टवेयर लागू गरेका हौं । यसमा तपाईं अभियन्ताहरुले पनि सहयोग गर्नुपर्छ ।’

को व्यक्तिले कुन संस्थामा बसेर कहाँ के गर्याे भन्ने कुरा हेर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले त्यही बद्मास व्यक्तिले फेरि अर्को ठाउँमा बसेर बदमासी नगरोस् भनेर सरकार र अभियन्ता सबै लाग्नुपर्ने भएकाले कर्जा सूचना केन्द्रलाई त्यही ढंगले विकास गर्न खोजिएको प्रष्ट पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *