Sajhamanch Archive

बुद्धशान्ति साकोसको साधारणसभामा ३२ ले गरे आँखादान

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by .

बुद्धशान्ति । यहाँस्थित बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आँखादान कार्यक्रम सञ्चालन गरेर सामाजिक उत्तरदायित्वमा संस्थालाई एक कदम माथि पुर्याएको छ ।

बुधबारे बजारको रामजानकी मन्दिरको सभाहलमा भएको साधारणसभामा सहकारीका नियमित प्रक्रियासँगै आँखा दानको महत्वका बारेमा छलफल गरिएको थियो । मेची आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले समाजमा सर्वसाधरणलाई आँखादान महादान हो भन्ने बुझाउन समस्या भइरहेको अवस्थामा सहकारीले सचेतना फैलाएकोमा प्रशंसा पनि गरे ।

उनका अनुसार नेपालमा वार्षिक १० हजार आँखाको नानी आवश्यक हुने गरेको भए पनि अहिले वार्षिक करिव ३ हजारको हाराहारीमा मात्र उपलब्ध हुने गरेको छ । विभिन्न संघ–संस्थाहरुले यस्तो अभियानलाई अगाडि बढाउँदा मेची आँखा अस्पताल समन्वयका लागि सधैं तयार रहेको जानकारी गराए ।

सोही कार्यक्रममा आँखादान गर्न इच्छुक ३२ जनाबाट स्वीकृति फारम संकलन गरी सम्मानपत्र प्रदान गरिएको थियो ।

बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का अध्यक्ष कमल उप्रेतीको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन समारोहमा उनले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भए तापनि केही सहकारीले नियतवस बदमासी गरेको कारण सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोबार गर्न सुझाव दिए । वडाध्यक्ष उप्रेतीले सहकारीहरुले अब ठूलो परिणामको नतिजा दिनका लागि सबैको विश्वास जित्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष पुष्प रिजालको अध्यक्षतामा आयोजित साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ७४ लाख ४ हजार ६०० रुपैंया शेयर पूँजी तथा ८ करोड ३२ लाख ३५ हजार २१ रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षमा २ करोड ६७ लाख १ हजार ८०० रुपैयाँ कर्जा लगानी गरी १२ लाख ७८ हजार ९७९ रुपैयाँ खुद आम्दानी गरेको प्रतिवेदनमा जनाइएको छ ।

सधारणसभाको अवसरमा संस्थाले समाजसेवी तथा ज्येष्ठ नागरिक, उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुने समाजसेवी तथा ज्येष्ठ नागरिकहरुमा दिनानाथ ढकाल र पवित्रादेवी खतिवडा, उत्कृष्ट कर्मचारीमा रिता क्षेत्री र श्रृजना मैनाली,उत्कृष्ट बचतकर्ता विपिन धौराली र असल ऋणी सुधिर सत्याल रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *