थुक्पा उद्योगले चम्काउँदै पोखरेल बन्धुलाई
Published: (Updated: )
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ पुष्पलाल चोकका पोखरेल बन्धुहरुले सञ्चालन गरेको थुक्पा उद्योगले छिमेकी बिर्तामोडका बासिन्दालाई समेत लोभ्याएको पाइएको छ । करिब तीन वर्षअघि एक लाख ५० हजार रुपैयाँको सानो पूँजीबाट उद्योग सुरु गरिएको हो । सो थुक्पा उद्योगमा पोखरेल परिवारको सिङ्गो पाँच दाजुभाइले श्रम र पसिना बगाइरहेका छन् । फलस्वरुप यसको उत्पादनले राम्रै बजार पनि पाउन थाहेको हो ।
सुरुमा घरभाडामा लिएर थुक्पा उद्योग सञ्चालन गरेका उनीहरुले गतवर्ष जमिन किनेर उद्योग स्थापना गरेका छन् । उपभोग्य खाद्य सामग्री उत्पादन गर्दा पक्कै घाटा नलाग्ने सोचेर थुक्पा उद्योगको शुरुवात गरेको दुर्गा पोखरेल सुनाउँछन् । आफ्नो उत्पादन गुणस्तरीय हुँदाहुँदै पनि शुरुमा बजारीकरणमा समस्या भएको थियो तर अहिले माग धान्न धौ धौ परिरहेको उनको कथन छ ।
‘मेरो उत्पादन किनिदिनुस्, गुणस्तरीय र मिठो छ भनेर कति ब्यापारीलाई अनुनय गर्नुपथ्र्यो’ दुर्गाले भने ‘तर अहिले बजारको माग पूरा गर्न सकेका छैनौँ । सायद यही नै हाम्रो उपल्ब्धी हो ।’
न्यू पाथीभरा नुडल्स उद्योगको नामबाट उत्पादित थुक्पाले झापा, इलाम र पाँचथरका मुख्य बजारहरु समेटेको बताइन्छ । सानो पूँजी र परिवार भित्रकै मात्र श्रममा सञ्चालन गरिएकाले यतिबेला ८–१० बोरा पिठोकोमात्र थुक्पा उत्पादन गर्ने गरिएको पोखरेल बन्धुको भनाई छ । ‘अब बिस्तारै उद्योगको क्षमता बढाएर अनि पूँजी पनि थपेर उत्पादन बढाउदै लानेछौं’ हामीसँगको कुराकानीमा दुर्गाले सुनाए ।
सानो उमेरबाटै जागिरको नाममा श्रम बेच्दै आएका दुर्गाले जागिर एकजनाका लागिमात्र हुने रहेछ भनी व्यवसायमा हात हाल्दा परिवार नै रोजगार हुने र भविष्य पनि राम्रो देखेर खाद्य सामग्री उत्पादनमा हात हालेको प्रष्ट पार्छन् । नभन्दै उनले देखेको सम्भावना र सपनाले साकार रुप लिँदै जाँदा न्यू पाथीभरा नुडल्स उद्योगको पहिचान पनि बढ्दै गएको छ ।
थुक्पा बनाउने मेसिन चलाउने, पिठोको काम लगायत अन्य सबै काम दुर्गाका दाजुभाइले गर्छन् भने उनी चाहिँ यसको बजारीकरणमा लागेका छन् । थोरै लगानीबाट थुक्पा उद्योग शुरु गरेका पोखरेल बन्धुहरुमा २ वर्षको छोटो अवधिमा सोही ब्यापारबाट परिवार पाल्दै घर र जग्गा किन्ने हिम्मत आउनु नै सफलता हो । पोखरेल भन्छन्, थुक्पा उत्पादन गर्दा ४ दिनसम्म गुम्साउनु पर्ने भएकाले वर्षातको समयमा धेरै समस्या हुने गरेको छ ।
आफूले गरिरहेको व्यवसायमा चुनौती पनि धेरै छन् । त्यही चुनौती भित्र अथाह सम्भावना पनि रहेको आफ्नो अनुमान छ । यही बुझेर आफूजस्ता युवा सबै व्यवसायी बनुन् र व्यवसायबाट आफूलाई मात्र नभएर परिवारलाई नै रोजगार बनाउन सकिन्छ भन्ने सन्देश दिन पनि सबै दाजुभाइले एउटै व्यवसाय गरेको उद्योगी दुर्गा पोखरेलको भनाई छ ।
Comments