Sajhamanch Archive

‘मैले मज्जाले सहकारी बुझेकी छु’ : मन्त्री अर्याल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन पुनः आग्रह गरेकी छन् ।

नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले आफूलाई सहकारी क्षेत्रलाई बुझ्नुभएन कि भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफूले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको प्रष्ट पारिन् ।

‘मैले मज्जाले सहकारी बुझेकी छु’ मन्त्री अर्यालले भनिन् ‘अबको दिशा समृद्धि र विकास कै दिशा हो । सहकारीको स्रोत उत्पादनमा लगाउनुस् । उत्पादनमा लाग्नुस । मन्त्रीले सहकारी बुझेन कि क्या हो भन्ने होइन । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस भनेको सहकारीले सहकारी मै लगानी गर्नुस् भनेको हो ।’

लगानीको कुरा गरिरहँदा मन्त्री आफैंले किन गरेन भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्ने भएकाले आफूले ३ गाउँको जमिन एकीकृत गरेर कागती खेती शुरू गरिसकेको मन्त्री अर्यालको भनाई छ । यस वर्ष ३० हजार बोट कागती लगाउने योजना रहेको छ, अब हरेकले एउटा उद्यममा लगानी गर्नुपर्छ, मन्त्री अर्यालको जोड छ ।

सहकारी संस्थाहरू एकीकृत उत्पादनमा लाग्नुपर्ने बताउँदै मन्त्री अर्यालले भनिन्, ‘तपाइहरू सबै उत्पादनमा लाग्नुस् । सबै अभियन्तालाई बोलाएर एक–एकवटा होमवर्क दिएर पठाउने हो ।’ सहकारी क्षेत्रमा केही नयाँ गर्नेगरी सरकार अगाडि बढेको सुनाउँदै उनले त्रिभुवन विश्वविद्यालयलाई पाठ्यक्रममा सहकारीको विषय उल्लेख हुनुपर्यो भनेर अनुरोध गरिसकेको जिकिर गरिन् ।

सबै सहकारीमा एकै किसिमको ब्याजदर निर्धारण गर्न सरकारले सन्दर्भ ब्याज दर तोकेको भन्दै उनले यसमा अभियन्ताहरूको पनि साथ रहेको बताइन् । केही प्राविधिक कुरा मिलाउनुपर्‍यो भन्ने सुझाव आएको छ, यसलाई कार्यान्वयन गर्ने गरी जाउँ भनेर अभियन्ताहरूले भनेकाले छलफल भइरहेको उनले जानकारी दिइन्

यसैबीच नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका अवसरमा दुई जना पत्रकारलाई पुरस्कार र सम्मान गरिएको छ । समाजले स्थापना गरेको ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ क्लिकमाण्डु डटकमकमका शोभित थपलियालाई र संस्थाका संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *