पूर्व राज्यमन्त्री र पूर्व क्षेत्रीय प्रशासकसहितलाई कारवाहीका सिफारिस
Published:
by .झापा । डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जवराले नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच झापामा टकराव शुरु भएको छ ।
जिल्लामा पार्टीको समानान्तर समिति बनेपछि दुई पक्षबीचको विवाद बाहिर आएको हो । यही विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्यसमिति झापाले पूर्व राज्यमन्त्रीसहित आधा दर्जन नेता कार्याकर्तालाई कारवाहीका लागि सिफारिस गरेको छ ।
झापामा समानान्तर समिति गठन गरेको भन्दै पूर्व श्रम राज्यमन्त्री टेकनारायण राजवंशी, शाही शासनकालका क्षेत्रीय प्रशासक प्रजापति कोइराला, चेतनाथ थापा र विजय दाहाललाई अनुशासनको कारवाहीको लागि केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव निरबहादुर कार्कीले जानकारी दिएका हुन् ।
डाक्टर लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जवरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको झापा जिल्ला अध्यक्षमा ओमप्रकाश मिश्र चयन भएका थिए । साउन २१ गते सम्पन्न एकीकरण घोषणासभामा पनि मिश्रको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको जानकारी दिइएको थियो ।
तर एकीकरण गर्दा नेतृत्व नपाएका असन्तुष्ट पक्षले भदौ १४ गते लक्ष्मीप्रसाद ओडारीको अध्यक्षतामा अर्काे समान्नतर समिति गठन गरेपछि दुई समूहबीच विवाद चुलिएको हो । समानान्तर समितिको अध्यक्षमा ओडारी चयन भए पनि समिति बनाउन माथि उल्लेखित व्यक्तिहरुको भूमिका भएका कारण कारवाहीको माग गरी सिफरिस गरिएको पार्टीले जनाएको छ ।
मिश्र पक्षधरले ओडारी पक्षलाई विष्णु भट्टराईलाई केन्द्रीय उपाध्यक्ष भन्दै गलत प्रचार गरी भ्रम सिर्जना गरेर कार्यक्रममा प्रमुख अतिथि बनाएको आरोपसमेत लगाएको छ ।
राष्ट्रवादी र प्रजातान्त्रिक एकीकरण समायोजन प्रक्रिया पूरा भएर जिल्ला, नगर, वडातहमा भइरहेको समायोजनका क्रममा केन्द्रीय संयोजन समितिले मेची अञ्चलका लागि तोकेको केन्द्रीय पदाधिकारी र सदस्यहरुको समायोजन समितिले केन्द्रको विधि र निर्देशन प्रक्रियालाई लिएर साउन २१ गते झापामा घोषणासभा गरेर पार्टीको झापा जिल्ला कार्य समिति गठन गरेको मिश्र समूहको दावी छ ।
भेलाले तात्कालिन प्रजातान्त्रिकका लक्ष्मीप्रसाद ओडारीलाई झापाको निर्देशन समितिको संयोजकमा चयन गरेको केन्द्रलाई पठाएको पत्रमा उल्लेख छ । तर, मिश्र नेतृत्वको जिल्ला समितिले झापालाई पूर्णता प्रदान गरी संगठन विस्तार गर्दै क्षेत्र, नगर, वडामा समायोजन कार्य गरिरहेका बखत लक्ष्मीप्रसाद ओडारीको नेतृत्वमा समानान्तर समिति गठन भएको उल्लेख छ ।
जिल्लामा केन्द्रको निर्देशन पालना नगरी समानान्तर समिति बनाएका कारण अनुशासनको कारवाहीको माग गरिएको मिश्र पक्षका जिल्ला सचिव कार्कीले जानकारी दिएका छन् । पार्टीका संगठन विभाग प्रमुख ध्रुवबहादुर प्रधानलाई सम्बोधन गरेर केन्द्रीय कार्यालयका लागि लेखेको पत्रको बोधार्थ पार्टीका १ नम्बर प्रदेश संयोजक सुनिलबहादुर थापालाई दिइएको छ ।
पत्रमा माथि उल्लेखित व्यक्तिहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाहीको सिफारीस गरिएको छ ।
Comments