रमेश पोखरेललाई हाम्रो नेपाल साकोसको सहकारी अभियन्ता पुरस्कार दिइँदै
Published:
by .बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले यही भदौ २२ गते आयोजना गरेको सातौं वार्षिक साधारणसभामा प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदन आज सार्वजनिक गरेको छ ।
संस्थाले बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको हातबाट प्रतिवेदन सार्वजनिक गरेको हो । वार्षिक प्रतिवेदन अनावरण पछि भनाई राख्दै संघका अध्यक्ष ढकालले हाम्रो नेपालले आफ्नो वित्तीय कारोबारमा वर्षेनी २० प्रतिशत ‘ग्रोथ’ गरिरहेको सुनाए ।
अध्यक्ष ढकालले हाम्रो नेपालले साकोसका ‘कोर विजनेश’ उत्कृष्टताका साथ पूरा गर्दै सामाजिक सेवा कार्य अर्थात् समुदायप्रतिको चासो पनि उत्कृष्ट ढंगले निर्वाहा गरिरहेको मूल्याङ्कन पनि गरे ।
वार्षिक प्रतिवेदन सार्वजनिक पछि संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले आर्थिक वर्ष २०७५/०७६ मा आफ्नो संस्थाले गरेका वित्तीय कारोबारको झलकहरु तथा चालू आर्थिक वर्षका लागि अघि सारिएको कार्यक्रम बारे प्रस्तुति गरेका थिए ।
जसअनुसार संस्थाले समीक्षा वर्षमा ५० करोडको वासलात बनाएकोमा चालू वर्षका लागि ८० करोडको लक्ष्य लिएको छ । समुदायमा आधारित सक्षम र दिगो सहकारी संस्था बनाउने परिकल्पना गरेको हाम्रो नेपालको टिमले समीक्षा वर्षमा गत आर्थिक वर्षको तुलनामा हरेक विषयमा २० प्रतिशतले वृद्धि गरेको छ ।
प्रतिवेदनका मुख्य बुँदाहरु सुनाउँदै संस्थाका अध्यक्ष दंगालले २०६९ सालमा ३७ जनाले १८ लाख ५० हजार शेयर पूँजीबाट स्थापना गरेको हाम्रो नेपालले सात वर्षको अवधिमा ५ हजार ९४६ जना शेयर सदस्य बनाएर ५ करोड १२ लाख ५ हजार ६०० रुपैयाँ पुर्याएको जनाए ।
समीक्षा वर्षमा ५६ लाख ८६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको संस्थाले सदस्यहरुको परिवारमा पर्ने जन्मदेखि मृत्युसम्मका अनेकन सुखदुखका कार्यहरुमा अभिभावकत्व निर्वाहा गरिरहेको जनाइएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाले सुत्केरी सुविधा, नवजात शिशु सुविधा, ऋणि सदस्यको वा उसको पति÷पत्नीको मृत्य भएमा कर्जा मिनाहा, समवेदा एवम् श्रद्धाञ्जली, सदस्य भ्रमण आदि क्षेत्रमा सदस्यले सुविधा पाएका छन् । संस्थाले आफ्ना सदस्यहरुका लागि विभिन्न २० किसिमका सुविधाहरु प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका सचिव विपी लामिछानेले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रितहरुलाई उपाध्यक्ष पृथ्वी ओलीले स्वागत गरेका थिए । ७औं वार्षिक साधारणसभामा संस्थाले प्रदान गर्ने सहकारी अभियन्ता पुरस्कार यसवर्ष राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष रमेशप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ ।
साधारणसभाको प्रमुख अतिथिका रुपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती आउने भएका छन् । साधारणसभामा एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने दुईजना विद्यार्थहरु, तीनजना बाल बचतकर्ता, तीनजना उत्कृष्ट बचतकर्ता शेयर सदस्यहरु र तीनजना उत्कृष्ट ऋण कारोबारीहरु पुरस्कृत एवम् सम्मानित हुने पनि जनाइएको छ ।
Comments