ओम बिमलीको काँधमा झापा चेम्बर
Published:
by .झापा । ‘राष्ट्रिय पूँजी र व्यवसायीहरुको आधार, समृद्धि र विकासको पूर्वाधार’ भन्ने मुख्य नारा बनाएको चेम्बर अफ कमर्शको झापा जिल्ला च्याप्टरले आज प्रथम साधारणसभा सम्पन्न गरेको छ ।
प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले ओमकृष्ण बिमलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व पनि चयन गरेको छ ।
बिर्तामोडमा भएको साधारणसभाले कमर्शको वरिष्ठ उपाध्यक्षमा सुवास भट्टराईलाई चयन गरेको छ भने उद्योग उपाध्यक्षमा दिपेन्द्र राउत र वाणिज्य उपाध्यक्षमा यामनाथ बिमलीलाई जिम्मेवारी दिएको छ ।
शिवकुमार अग्रवालको नेतृत्वमा बनाइएको निर्वाचन समितिले सर्वसम्मतिको प्रक्रियाबाट महासचिवमा प्रदिप खरेल, कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्ता, वाणिज्य सचिवमा विरोध सुवेदी र उद्योग सचिवमा प्रेमा भट्टराईलाई चयन गरेको छ ।
साधारणसभाले चेम्बरको झापा जिल्ला सदस्यहरुमा विष्णुप्रसाद आचार्य, शिला ढकाल, गणेश पाठक (सुवोध), टंकप्रसाद भट्टराई, लक्ष्मी बस्नेत, मनोजकुमार अग्रवाल, अर्जुन चुँडाल, धरणी पोखरेल, लिला चिमरिया र कृष्ण राजभण्डारीलाई चयन गरेको छ ।
चेम्बरका झापा अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा आयोजित साधारणसभा उद्घाटन समारोहमा उनले संस्था स्थापनादेखि हालसम्म चेम्बर अफ कमर्श झापाले गरेका कामका विवरण सुनाए ।
अध्यक्ष अग्रवालले पेश गरेको प्रतिवेदनमा महिला चेम्बर झापा जिल्ला समिति तथा गाउँ नगर समितिहरु गठन गरेको, आन्तरिक राजश्व कार्यालय र आर्थिक पत्रकार समाजसँग मिलेर कर सचेतना अन्तरक्रिया गरेको, विपन्न विद्यार्थीहरुलाई स्वीटर तथा स्टेशनरी प्रदान गरेको लगायत उल्लेख छ ।
यस्तै कोषाध्यक्ष दिपेन्द्र राउतले एक लाख ६० हजार ७०० रुपैयाँको आय व्यय विवरण सुनाए । झापामा चेम्बर अफ कमर्शका १०० जना सदस्य रहेकाले उनीहरुबाट सदस्यता शुल्कस्वरुप लिइएको रकममात्र आम्दानी रहेको जनाइएको छ ।
खर्चतर्फ महिला चेम्बर गठन, पदस्थापन, कर प्रशिक्षण, विधान निर्माण तथा संस्था दर्ता, स्वीटर एवम् स्टेशनरी सामान खरिद, कार्यालय व्यवस्थापन लगायतमा खर्च गरी १३ हजार ७१५ रुपैयाँ बचत गरिएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा बोल्ने सबैजसो वक्ताहरुले उद्योग वाणिज्य संघ र चेम्बरको उद्देश्य लगभग उस्तै रहेको सुनाउँदै एकले अर्काको विरोध गरिरहनुको औचित्य नहुने धारणा राखेका थिए ।
Comments