Sajhamanch Archive

पूर्ण सरसफाई अभियान हाँक्न झापामा बाल क्लवहरु गठन हुँदै

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । गत वर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको झापामा पूर्ण सरसफाई अभियानलाई तीब्रता दिइएको छ । समुदायको खानेपानी तथा सरसफाइको अवस्था, संस्थागत क्षेत्रमा सरसफाइको अवस्था र सरसफाइ सम्बन्धी जनचेतना दिलाउन बाल क्लबहरु परिचालित भएका छन् ।

खुला दिसामुक्त घोषणापछिको प्रक्रियालाई अझ विकसित ढंगबाट अघि बढाउन युएन ह्यमबिट्याटको ग्लोबल स्यानिटेशन फण्डको साझेदारीमा झापाका तीनवटा पालिकामा सन् २०१९ का लागि नमूनाको रुपमा पूर्ण सरसफाई अभियान थालिएको हो ।

अभियान अन्तर्गत आज मंगलबार बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरसँग पूर्ण सरसफाइका क्रियाकलापसम्बनधी छलफल गरिएको छ ।

छलफलमा विद्यालयहरुमा बाल क्लब गठन गर्ने र ती क्लबमार्फत पूर्ण सरसफाइका क्रियाकलाप अघि बढाउने प्रतिवद्धता विद्यालयका प्रतिनिधिहरुले गरेका छन् ।

बिर्तामोड नगर शिक्षा शाखाका प्रमुख केशव खवासको अध्यक्षतामा आयोजित बाल क्लब गठनसम्बन्धी योजना कार्यशालामा अभियानको सहजीकरण गरिरहेको संस्था विराट सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता सोम आचार्य र सरसफाई अभियानकर्मी रुद्रबहादुर न्यौपानेले पूर्ण सरसफाई अभियानमा गर्नुपर्ने क्रियाकलापका बारे सहजीकरण गरेका थिए ।

विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले पूर्ण सरसफाई अभियानलाई परिणाममुखी तुल्याउन विद्यालय क्षेत्रको अहम् भूमिका रहने हुँदा सहयोग पुर्याउन आग्रह गरे । कार्यक्रम संस्थाका कार्यक्रम अधिकृत अर्जुन पाठकले सञ्चालन गरेका थिए ।

यसअघि अभियान सञ्चालनमा रहेको कमल गाउँपालिकामा क्लब गठन भई सो क्लबले क्रियाकलाप अघि बढाइसकेको छ भने गौरीगञ्ज गाउँपालिकामा पनि अभियान शुरु भइसकेको सहजकर्ता आचार्यले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *