झापा जिल्ला सहकारी संघ लिमिटेड
Published:
by .प्रेस विज्ञप्ती
झापा बिर्तामोड नगरपालिकाको चारपानेमा केन्द्रीय कार्यालय रही प्रदेश नं. १ का ६ वटा जिल्ला कार्यक्षेत्र भएको, १ लाख ५० हजार सदस्य बनाई गरीब विपन्न तथा मध्यमस्तरका नागरिक माझ वित्तीय साक्षरतासहितको वित्तीय पहुँच, शिक्षा, स्वास्थ्यमा सहयोगसहित विभिन्न सामाजिक क्षेत्रमा समेत काम गरिरहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को निर्माणाधिन भवनमा भदौ २२ गते आइतबार राति बम बिस्फोट गराइएको घटनाप्रति झापा जिल्ला सहकारी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
सहारा नेपाल अत्यन्त न्यून आय भएका सदस्यहरु बीच महिला सशक्तिकरण, स्वरोजगार सिर्जना, उधमशिलताको विकास गरी विगत २ दशकदेखि कार्य गर्दै आइरहेको संस्था हो । सदस्यमाझ राहत, सहयोगका विभिन्न कार्यक्रम गर्ने नेपालकै ठूलो संस्था पनि हो । सो संस्थाले गर्ने कुनै कार्यक्रममा सुधार गर्नुपर्ने भएमा सोबारे कुनै जानकारी र छलफलसमेत नगरी एकाएक बम बिष्फोट गराउने कार्य निन्दनीय छ ।
नेपालको सहकारी अभियानलाई राज्य र निजी क्षेत्रले सहयोग नगरे पनि स्वयम् नागारिकको एकताबाट नागरिकलाई आर्थिक मूल प्रवाहमा जोड्ने, सामुहिक स्वामित्वमा व्यवसाय गर्ने, सिकाउने, पूँजीका आधारमा नभएर सदस्यका आधारमा संस्था सञ्चालन गर्ने र ससानो पूँजी संकलन तथा परिचालन गर्दै पूँजी निमार्ण गरी उत्पादनको क्षेत्रलाई जोड्ने एकमात्र अभियान भएकाले यसमा क्षति पुर्याउनु गलत कार्य हो । यस्ता घटनाले लाखौं सदस्यलार्ई वित्तीय साक्षर बनाउँदै व्यवसायिक र स्वरोजगार बनाउने अभियानमा क्षति पुगेको छ । संस्थाले आर्जन गरेको कोषलाई बलियो बनाउँदै सदस्यकै हितका लागि सञ्चालन गरेर राहत र सहयोगका कार्यक्रममा पनि यो घटनाले क्षति पुगेकोछ । संस्थागत पूँजी निर्माण गर्दै आमसदस्यलाई उत्पादन, बजार र उद्योगमा जोड्ने अभियानमा क्षति भएको संघको ठहर छ । हुनेले नहुनेलाई, सक्नेले नसक्नेलाई सम्मान र सहयोग पुर्याउने भावना र सपना यस्ता घटनाबाट टुट्छ ।
यस्तो अभियानको एउटा अग्रणी संस्था माथिको हमला नेपालका ६५ लाख सदस्य माथिकै हमलाका रुपमा सहकारी अभियानले लिएको छ । नेपाली जनताको भावना र सपना माथि खेलबाड नगरी सहयोग र सद्भाव कायम गर्न हामी सबै समुदाय, संघ–संस्था, नागरिक समाज र घटना गराउने पक्ष समेतसँग अपील गर्दछौँ । साथै उपरान्त यस्ता घटना नगराउन र नगर्न सचेत गराउँदै सहकारी माथिको आक्रमण तत्काल बन्द गर्न जोडदार माग पनि गर्दछौँ । स्मरण रहोस्, १० वर्षे सशस्त्र युद्धमा समेत सहकारीमा आक्रमण नभएको यथार्थ हो ।
गणेश ढकाल
(अध्यक्ष)
Comments