Sajhamanch Archive

संविधान दिवसको अवसरमा अर्जुनधाराका सबै शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले संविधान दिवसको अवसर पारेर नगरका ५८ वटा विद्यालय र एउटा क्याम्पससहित ५९ वटा निजी तथा सामुदायिक बिद्यालयमा आज राष्ट्रिय झण्डा र मिठाई वितरण गरेको छ ।

अर्जुनधारा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दिलिप गुरुङले अर्जुनधारा ६ स्थित हिमाली एजुकेशन फाउण्डेशनमा लगायतका विद्यालयमा नै गएर राष्ट्रिय झण्डा फहराउँदै तथा विद्यार्थीलाई चकलेट वितरण गरेका हुन् ।

हिमाली एजुकेशन फाउण्डेशनमा विशेष औपचारिक कार्यक्रम गरेर झण्डा प्रदान गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता सकुन्तला बरालसहितको विशेष आतिथ्ययता रहेको थियो ।

सो अवसरमा कक्षा–७ मा अध्ययनरत मनोज तिवारीले संविधानका विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए । प्रमुख अतिथि गुरुङले संविधानलाई कसरी कार्यान्वयन, व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भन्ने मार्गदर्शन गर्दै नगरपालिकाले संविधान दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको बताए ।

नगरका निजी तथा सामुदायिक विद्यालयमा जनप्रतिनिधिको उपस्थितिमा राष्ट्रिय झण्डा वितरण साथै अतिरिक्त क्रियाकलाप गरेको गुरुङले जानकारी दिए । विद्यालयका शिक्षक सुनिता भट्टराईले आमन्त्रितहरुलाई स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल शान्ता गिरीलगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक बासुदेव बरालले गरेका थिए । आधारभूत तहसम्म अध्यापन हुने सो विद्यालयमा हाल ४५५ जना विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल गिरीले जानकारी गराइन् । २०६३ सालमा ८० जना विद्यार्थीबाट पढाई शुरु गरेको सो विद्यालयमा २३ जना शिक्षक कार्यरत रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *