Sajhamanch Archive

बिर्तामोड नगरपालिकामा २१ वटा ऐन कानून कार्यान्वयनमा

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । संविधान दिवसको सन्दर्भ पारेर बिर्तामोड नगरपालिकाले आफूले बनाएका कानूनको कार्यान्वयन र त्यसको प्रावधान सम्बन्धी आज अन्तरक्रिया गरेको छ ।

संविधान दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाले हालसम्म निर्माण गरेका कानून, कार्यविधि र निर्देशिकाहरुको अवस्था र त्यसको कार्यान्वयनका विषयमा चर्चा गरिएको हो ।

बिर्तामोड नगरपालिकाले हालसम्म २१ वटा कानून निर्माण गरेर कार्यान्वयनमा ल्याएको सो अवसरमा जानकारी गराइएको छ । नगरपालिकाले कार्यान्वयनमा ल्याइसकेका ऐन, कानून र नियमहरुबारे पहिले जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरी पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले बताए ।

सो अन्तरक्रियात्मक कार्यक्रममा वरिष्ठ अधिवक्ता टंक उप्रेती, अधिवक्ताहरु कमला उप्रेती, खगेन्द्र खरेल र नगरपालिकाका न्यायिक समितिका कर्मचारी टीकामाया लामिछानेले कानून कार्यान्वयन, हालको अवस्था र निर्माण गर्नुपर्ने कानूनहरुका बारेमा प्रकाश पारेका थिए ।

तीन दिनसम्म मनाउने संविधान दिवसको कार्यक्रम अन्तरगत असोज २ गते साँझ मुक्तिचोकमा दिपावली गरिँदैभ भने असोज ३ गते बिर्तामोडमा प्रभातफेरी लगायतका कार्यक्रम तय गरिएको प्रशासन शाखा प्रमुख देवराज कार्कीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *