सिम्रिक साकोसका सदस्यले पाए घरमै स्वास्थ्य उपचार राहत
Published:
by .कनकाई । सिम्रिक साकोस बिर्तामोडले सुरुङ्गा सेवा केन्द्र अन्तरगतका १० जना सेयर सदस्यको परिवारमा परेको स्वास्थ्य उपचार समस्यालाई दृष्टिगत गरी आज घरघरैमा पुगेर स्वास्थ्य उपचार राहत प्रदान गरेको छ ।
संस्थाका सचिव सुवास भट्टराईको नेतृत्वमा गएको टोलीले सेयर सदस्य स्वयम्को स्वास्थ्य उपचार तथा तिनका परिवारका सदस्यलाई उपचार राहत प्रदान गरेका हुन् ।
सचिव भट्टराईका अनुसार शेयर सदस्य इन्दिरा सिलवालको फोक्सोमा क्यान्सर भएकोले २५ हजार रुपैयाँ उपचार राहत प्रदान गरिएको छ भने शेयर सदस्य सरिता राईका ससुरा बुबाको मृगौला फेल भएकोले १२ हजार ५०० रुपैयाँ उपचार सहयोग दिइएको छ ।
यस्तै अर्का शेयर सदस्य चन्द्रकला खनालका ससुरा बुबा मृगौला फेल भएकोले १२ हजार ५०० रुपैयाँ र निजका श्रीमानको पनि पित्तथैलीको शल्यक्रिया गरेकोले ६ हजार २५० रुपैयाँ उपचार सहयोग दिइएको छ ।
अर्का शेयर सदस्य राजेन्द्र दहालकी श्रीमतीको शल्यक्रिया गरेकोले ४ हजार रुपैयाँ, पंकज मंडलको छोरीको हात भाँचिएकाले १ हजार ५०५ रुपैयाँ, रामबहादुर खड्काको छोराको खुट्टा भाँचिएकोले २ हजार ४३५ रुपैयाँ उपचार सहयोग प्रदान गरिएको छ ।
यसैगरी, टीकादेवी खरेलको छोराको हात भाँचिएकोले ४ हजार १०० रुपैयाँ र एकराज चुँडालको बुबाको खुट्टा भाँचिएकोले २ हजार ३६ रुपैयाँ उपचार राहत दिइएको हो । सदस्य राहत कोषबाट उक्त रकम शेयर सदस्यको घरघरमै गएर हस्तान्तरण गरेको सचिव भट्टराईले जानकारी दिए ।
Comments