दूध उत्पादन : सम्भावना र चुनौती
Published: (Updated: )
by .नेपालमा गाई र भैंसी नै दूधका मुख्य स्रोत हुन् । त्यसैले दूध उत्पादनका लागि गाईभैंसी पाल्ने चलन छ । दूधको उपभोग सबै उमेर समूह र सबै समुदायले गर्ने गरेका कारण यसको महत्व उच्च छ । पौष्टिकताका लागि नै दूधको उपभोग गरिन्छ । दूधबाट अनेक परिकार बनाइन्छ । दूध पूर्ण आहार हो पनि भनिन्छ । त्यसैले स्तनधारी सबै प्राणीले आफ्ना बच्चालाई निश्चित अवधिसम्म आमाको दूधमात्र खुवाउने गरिएको छ । मानिसमा पनि शिशुको लागि आमाको दूध नै सबैभन्दा उत्तम खाद्यवस्तु मानिन्छ । कारणवस आमाको दूध उपलब्ध हुन नसके गाईको दूध विकल्पमा रोजिन्छ ।
दूधको महिमा भनिसाध्य छैन । यसको उपयोगिता जताततै छ । यो लेखमा दूधको उत्पादनको सम्भावना र केही चुनौतीका बारेमा संक्षिप्तमा चर्चा गर्न लागिरहेको छु । एउटा मानिसलाई स्वस्थ रहन कति दूध खान उपयुक्त हुन्छ भन्ने कुरा उमेर, स्थान, अवस्था आदिका आधारमा फरक फरक हुन सक्छन् । सरदरमा डब्लुएचओले एक जनाका लागि वार्षिक न्यूनतम् ९१ लिटर दूध उपभोग गर्न सुझाएको छ । विकसित मुलुकका नागरिकमा प्रतिव्यक्ति खपत योभन्दा धेरै माथि पुगेको तथ्याङ्क पाइन्छ भने गरिव देशमा निकै कम । नेपालमा प्रतिव्यक्ति खपत ७० लिटरको हाराहारीमा रहेको अनुमान छ ।
नेपालको बजारमा अझै धेरै नै दूग्धजन्य पदार्थ छिमेकी मुलुक भारत र अन्य देशबाट आयात हुने गरेको छ । यो अवस्थालाई हेर्दा नेपालमा दूधको उत्पादन बढाउन सक्दा खपतका लागि अझै धेरै सम्भावनाहरु बाँकी छन् । नेपाल दूध उत्पादनका लागि कत्तिको उपयुक्त स्थान हो भन्ने बारेमा सायद कसैको दुईमत हुँदैन । यहाँ गाईभैंसी सदियौंदेखि पालिँदै आएको छ । गाईको संरक्षणका लागि अनेकौं धार्मिक मान्यताहरु छन् । यहाँको मौसम, हावापानी, माटो पशुपालनका लागि धेरै उपयोगी छ । यहाँ पशु आहारका लागि चाहिने घाँसको खेती सहजै गर्न सकिन्छ । यति अनुकुलता हुँदाहुँदै पनि किन यहाँ दूधको उत्पादन निकै न्यून हुन पुग्यो त ? यसबारेमा अलिकति चर्चा गरौं ।
कृषिका अरु क्षेत्रजस्तै पशुपालनमा पनि निर्वाहमुखी प्रचलनबाट समाज अगाडि बढ्न सकेको छैनभन्दा हुन्छ । त्यसैले पशुपालनको चलनमा व्यवसायिक चरित्रभन्दा निर्वाहमुखी चरित्र मूलरुपमा रहेको छ । समाज विकासको गतिसँगै पशुपालनले व्यवसायिक चरित्र ग्रहण गर्न आवश्यक भएको छ । दूध उत्पादनका लागि पालिने पशु विशेषगरी गाईभैंसीको पालन व्यवसायिक बन्न नसकेको कारण नै देशमा दूधको उत्पादन आवश्यकता भन्दा निक्कै कम भएको सहजै अनुमान गर्न सकिन्छ ।
जब व्यवसायिक दृष्टिले दूध उत्पादनको व्यवसाय गरिन्छ तब उत्पादनको लागत, बजार, खपत, बस्तु विविधिकरण, गुणस्तर, उपभोगको विस्तार आदिका बारेमा सोच्ने गरिन्छ । नेपालमा दूधको व्यवसायिक उत्पादनको जमर्को भएको छ । ठाउँठाउँमा केही सफलताका चिन्हहरु पनि देखिएका छन् । तर धेरै स्थानमा सफलता अझै टाढा देखिन्छ । व्यवसाय सफल हुनका लागि आवश्यक परिस्थिति, परिवेश, व्यवहार, ज्ञान, सीप के के हुन् र कसरी निर्माण गर्दैजाने भन्ने बारेमा केही चर्चा गरौं ।
बजार : व्यवसायिक दृृष्टिले उत्पादन गरिएको बस्तुको बजार सुनिश्चित हुनैपर्छ । बजार छ भनेर मात्रै हुँदैन । उत्पादित बस्तुको नियमित खपत गराउन त्यसको गुणस्तर, पहुँच, मूल्य सबैको ख्याल गर्नुपर्छ ।
उत्पादन लागत : प्रविधिमा पहुँच भएन र उपयुक्त ज्ञानको अभाव भयो भने व्यवसाय सफल पार्न जतिसुकै बल गरे पनि सफल हुन सकिँदैन ।
लगानी : व्यवसाय गर्न लगानीको आवश्यकता पर्छ । लगानी कसरी जुटाउने र त्यसको लागत कति पर्छ भन्ने सधैं ख्याल गर्न जरुरी हुन्छ ।
लगानी रकमको उपयोग : लगानी योग्य रकम भएर मात्रै हुँदैन । त्यसको सही उपयोग हुन सकेन भने व्यवसायमा समस्या पर्छ । स्थिर सम्पति, चालु सम्पति, सञ्चालन लागत सबै विषयमा ध्यान पुर्याउन र सन्तुलन मिलाउन आवश्यक हुन्छ ।
दक्ष जनशक्ति : कुनै पनि व्यवसाय गर्न दक्ष जनशक्तिको आवश्यकता पर्छ । सानो व्यवसाय छ र थोरै जनशक्ति लाग्ने अर्थात् आफैंले सबै काम गर्ने हो भने पनि आपूmले गर्ने व्यवसायको आधारभूत ज्ञान हुनुपर्छ ।
प्रविधिको प्रयोग : अहिलेको समयमा अब प्रविधिलाई साथमा नलिइकन व्यवसायलाई सफल बनाउन सकिँदैन भनेर बुझ्दा हुन्छ । त्यसैले आवश्यक मात्रामा प्रविधिमा लगानी गर्न र प्रविधिको प्रयोग गर्न पछि पर्नु हुँदैन ।
आम्दानी खर्चको हिसाब : भर्खरभर्खर व्यवसायमा लागेका धेरैले काम त गर्छन् तर हिसाब राख्न अल्छी गर्छन् । हिसाब किन राख्नु पर्यो, कसलाई देखाउनु छ र ? नाफा भयो कि घाटा भयो थाहा भइहाल्छ नि ! भन्ने सोच्ने गर्छन् । अझ हिसाब राख्ने गरे खर्च बढ्छ भन्ने मान्यता राख्छन् । यस्ता व्यवसायी सफल वा असफल भएको धेरै समयसम्म थाहा नै पाउँदैनन् । यस्तै यस्तै ।
थोरै गाई धेरै दूध : दूध उत्पादनमा लाग्ने व्यवसायिक किसानले दूध दिने पशुको नश्लमा ध्यान दिएर सुधारको योजना बनाउनु पर्छ । धेरैै गाई धेरै दूधको अवधारणामा परिवर्तन गरेर थोरै गाई धेरै दूधको उत्सादन अवधारणामा जानुपर्छ ।
दिगो फाइदाका लागि बाछी हुर्काउने योजना : उन्नत जातका बाछी हुर्काउन ध्यान दिनुपर्छ । किसानले बाछी हुर्काउँदा लाग्ने लागत मात्रै हेरेर हुँदैन । कति किसानले बाछी हुर्काउनुभन्दा गाई किनेर ल्याउनुमा फाइदा देख्दा बाछीको बेवास्ता गरिन्छ । बाछी हुर्काउन सक्दा नश्ल सुधार हुने, रोग प्रतिरोधात्मक क्षमता बढी हुने, स्थानीय हावापानी, बासस्थान, रहनसहन आदिमा परिचित हुनेहुँदा गाई सन्तुष्ट हुन्छन् र उत्पादन बढ्ने अवस्था आउँछ ।
पशु आहारमा विशेष ज्ञान र ध्यान : पशु आहाराको नाममा रेडिमेट चोकर र परालले गाईको स्वास्थ र उत्पादन दुवै बिग्रन्छ भन्ने कुरा धेरै किसानलाई थाहा छैनजस्तो लाग्छ । सजिलोको लागि अपनाउने यो आहारा उपाय किसान सिध्याउने उपाय हो ।
घाँसको नाममा झार खुवाउनु पनि बुद्धिमानी होइन । जब व्यवसायिक पशुपालनको कुरा गर्छौं, तब उन्नत जातका मौसमी र बहुवर्षे घाँसको खेती अनिवार्य हुन्छ । घाँसबाट साइलेज र हे बनाउने, गाईलाई खान उपयुक्त हुने गरी काट्ने टुक्राउने, सन्तुलित आहाराको व्यवस्था गर्ने, पर्याप्त र सफा पानीको नियमित व्यवस्था गर्ने, गाईलाई पर्याप्त खाना दिने गर्नुपर्छ ।
गाईको खुसीमा ध्यान दिने : गाईलाई सधै दाम्लाले बाँधेर फोहोर गोठमा थुन्दा गाई कसरी खुसी हुन्छ होला र ? झिंगाले टोक्ने, तिर्खा लाग्दा पानी खान नपाउने, भोक लागेको बेला खान नपाउने, खान पाए पनि पोसिलो र सन्तुलिन खान नपाउने, रोग लाग्दा बेलामा उपचार नपाउने, बस्ने ठाउँ असजिलो हुने, जाडोमा कठाग्रिंने, गर्मीमा अभैm तातिनु पर्ने, स्याहार गर्ने मानिसले सधैं गालीमात्रै गर्ने यस्तो भयो भने गाईले कति दूध बनाउला र !?
सान्दर्भिक गोठ : गोठ निर्माणमा देखाउन कै लागि धेरै लगानी गर्ने तर गाईको आहार र स्याहारमा खासै ध्यान नदिने व्यवसायिक बन्ने रहर गरेका गोठका मालिकहरुको अवस्था छ । कतै गोठ बनाउँदा गाईको सुविधा र खुसीमा अलिकति पनि ध्यान दिएको पाइन्न । अनुभव र विज्ञको परामर्शमा गोठ अनुकूल बनाउनु पर्छ । बनेको गोठलाई सकेसम्म सहज बनाउने गर्नु उपयुक्त हुन्छ ।
नियमित उत्पादनको योजना : दूध व्यवसायीले नियमित उत्पादनमा जोड दिने गरी योजना बनाउनु पर्छ । अझ बजारमा दूधको अभाव हुने सिजनमा बढी उत्पादन गर्ने हो भने बढी मूल्य पाउने सम्भावना हुन्छ । तर कुनै पनि गोठमा यो किसिमको योजना बनाएको पाइँदैन । यो व्यवसायिकताको अभाव हो ।
आम्दानी खर्चको हिसाब दुरुस्त राख्ने : दिनभर पसिना बगाएर काम गर्नसक्ने तर हरेक दिन आधा–एक घण्टा बसेर दिनभरको हिसाब राख्न अल्छी गर्ने प्रवृत्तिले कोही किसान पनि व्यवसायिक बन्न सक्दैनन् । व्यवसायिक बन्न, हिसाब दुरुस्त हुनैपर्छ । हिसाबले हाम्रो बाटो देखाउँछ, कहाँ खतरा छ त्यो थाहा दिन्छ । के गर्दा बढी आम्दानी भएको छ जानकारी पाइन्छ । यसले सही बाटो हिंड्न मद्दत गर्छ । त्यसैले हिसाब दुरुस्त राख्न अल्छी गर्नै हुँदैन ।
प्रविधिको प्रयोग : प्रविधि प्रयोग गरेर गाईको खुसी बुझ्न र नाप्न सकिन्छ । उत्पादनमा त्यसको प्रभावलाई हेर्न सकिन्छ । प्रविधिको प्रयोग गरेर उत्पादन लागत कम गर्न सकिन्छ । दूधको शुद्धता र स्वच्छता कायम गरेर बढी मूल्य लिन सकिन्छ ।
लगानीको लागत कम गर्ने : लगानी गर्ने पैसाको जोहो गर्दा बढी व्याजको पैसा भएमा त्यसले खर्च बढाउँछ । शुरुमा पैसा लिँदा रामाइलो नै लाग्छ । तर हरेक महिना सावाँ र व्याज बुझाउन आम्दानी लागतले समर्थन गरेन भने कर्जा लिनु प्रत्युत्पादक हुन्छ । त्यसैले सकेसम्म कम व्याजदरको कर्जा लिने प्रयास गर्नुपर्छ ।
सुरक्षात्मक उपाय अवलम्बन गर्ने : व्यवसायमा जहिले पनि जोखिम हुन्छ । त्यसमा पनि उखानले भन्छ ‘सासको धन गन्दै नगन’ । त्यसैले सुरक्षात्मक उपायका लागि बीमा लगायतको उपाय सधैं अपनाउनु पर्छ ।
निरन्तरता : कुनै पनि व्यवसायमा अनुभव लिन, सिक्न समय लाग्छ । नोक्सान भयो, भनेजस्तो भएन, अरु व्यवसाय नै राम्रो, यसमा दुखः धेरै भयो, समस्या धेरै रहेछन् आदि कुरा गरेर छिटोछिटो व्यवसाय परिवर्तन गर्नाले व्यवसायमा भएका कमजोरी सुधार्ने, गल्तीबाट सिक्ने, नयाँ सुधार र प्रयोग गर्ने अवसर गुम्छ । यस्तो अवस्थामा व्यवसाय सफल हुँदैन । पुरानो उखान नै छ ‘आगोले पोलेको घाउ आगोमै सेकाउनु’ ।
दूधका लागि पालिने पशु व्यवसायको नेपालमा प्रचुर सम्भावना छ । तर यो आधुनिक विधि प्रविधियु्क्त हुन आवश्यक छ । धेरै किसानले सोच्ने गर्छन्, गाई किनेर ल्यायो दैनिक दुईपटक दूध दोयो । दूधको आधा पैसाको गाईलाई दाना, आधाले गाईको मूल्य एकै बेतमा उठाउँछ । त्यसपछि गाई नाफामा । यो हिसाब साह्रै बेठीक होइन । तर, यसमा जोखिमको मात्रालाई कम गर्ने, खर्च घटाउने, उत्पादन लागत कम गर्ने उपाय अपनाउने, उत्पादन बढाउन कोशिस गर्ने, सहउत्पादन (गोवर, गहुँत, बाछाबाछी)–बाट अधिक लाभ लिन कोशिस गर्ने हो भने मात्रै व्यवसाय फाइदामा जान सक्छ ।
गोठमा स्वास्थ्य बाछी हुर्काएर राम्रो जातको ब्रिडबाट गर्भाधारण गराउने हो भने व्यवसायमा फाइदाको बाटो हिडिन्छ । तर बाछीले यति दूध खान्छ, बाछी हुर्काउन र माउ बनाउन तीन वर्षजति लाग्छ । त्यो बेलासम्म धेरै दाना खाइसक्छ । उत्पादन दिँदैन भन्ने सोचले लैना गाई ल्याएर गोठमा सधैं दूध दुहुने र दूध बेच्ने मात्रै सोच बनाउँदा व्यवसाय नाफामा जान र दिगो विकास हुन मुश्किल हुन्छ ।
सरकारी सहयोग : किसानलाई सधैं सरकारको सहयोगका आवश्यकता पर्छ । तर सरकारको अनुदान सहयोग कमिशन केन्द्रित हुँदा न त्यो सही किसानसम्म पुग्छ न सदुपयोग हुन्छ । वास्तवमा किसानलाई आर्थिक अनुदानभन्दा पहिला शिक्षा, प्रविधि, प्रोत्साहन, सुरक्षा, सुरक्षित बजार, सहुलियतसहितको सहज कर्जा आवश्यक छ । यसमा सरकारको ध्यान पुग्न सके दूध उत्पादनको ठूलो सम्भावना छ । रोजगारीको सिर्जना, आवश्यक पर्ने उत्पादन, व्यवसायिक ज्ञान र सीपको विकासमा सहयोग पुग्न सक्छ ।
(लेखक उप्रेती नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष हुन् ।)
Comments