कमलमा दुई प्रजातन्त्र सेनानी सम्मानित
Published:
by .कमल । संविधान दिवसको अवसरमा झापाको कमल गाउँपालिकाले दुईजना प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ । लोकतन्त्र ल्याउन अहम् भूमिका निर्वाहा गर्ने व्यक्तिहरुलाई सम्मान गरेर गाउँपालिकाले संविधान दिवस मनाएको हो ।
गाउँपालिकाले पूर्णानन्द शर्मा दाहाल र भोजकुमार घिमिरेलाई दोसल्ला ओडाएर, टोपी पहिर्याएर सम्मान पत्र प्रदान गरेको हो । प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेणु सिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठसहितले सामुहिक सम्मान प्रदान गरेका हुन् ।
सम्मान ग्रहण गरेपछि आफ्नो मन्तब्यमा पूर्णानन्द शर्माले यो संविधान निर्माणका क्रममा आफ्ना अग्रजले गरेको त्याग, तपस्या र वलिदानको वर्णण गरेर नसकिने भन्दै आफूले पनि तत्कालिन सरकारबाट धेरै कठोर यातना भोगेको स्मरण गरे ।
अर्का सम्मानित व्यक्ति भोजकुमार घिमिरेले यो सम्मानले आफूलाई अझै काम गर्ने हौसला र उत्प्रेरण मिलेको बताए । अझै केही गर्न सकिन्छ भनेर हौसला मिलेको छ । नेपाली जनताले यो अवस्थासम्म ल्याउनका लागि हाम्रो पनि केही योगदान रहेछ भन्ने बुझ्न पाएकोमा खुशी लागेको घिमिरेले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन राईले विगतका संविधानजस्तो यो संविधान राजा माहाराजाले दान दक्षिणामा निगाहा बक्स भएको होइन भन्दै तपाईं हामीले मनैबाट भोट हालेर जिताएका जनप्रतिनिधिले बनाएकाले यसलाई कार्यान्वयन गर्न लाग्नुपर्ने सुझाव दिए ।
Comments