सतासी सहकारीले चिया प्याकेजिङ्ग उद्योग खोल्ने
Published:
by .बिर्तामोड । राज्यले उपलब्ध गराएको बिऊ पूँजीबाट सहकारी पसल खोलेर देशकै नमूना बनेको बिर्तामोडको सतासी बहुमुखी सहकारी संस्थाले यसैवर्षबाट चिया प्याकेजिङ्ग उद्योग पनि सञ्चालनमा ल्याउने भएको छ ।
संस्थाको १६औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरी साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीसँगको सहकार्यमा चिया प्याकेजिङ्ग उद्योग सञ्चालन गरी स्वदेश तथा विदेशसम्म बजारीकरण गर्ने उद्देश्य राखेको जनाएको हो ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठका अनुसार सहकारी ऐन २०७४ को भावना बमोजिम सहकारी संस्थाहरुको साझेदारीमा उद्योग स्थापना गर्न पाउने प्रावधानलाई आत्मसात गर्दै चिया प्याकेजिङ्ग उद्योग सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँको बजेट बनाइएको छ ।
साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले सबै शेयर सदस्य एवम् आमन्त्रित अतिथिहरुले छोटो समयमा प्रतिवेदनका विषयमा अवगत हुन गाह्रो पर्ने देखिएकाले यो वर्षबाट नयाँ अभ्यास थालेको बताए ।
चार हजार १४१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी २०७६ असार मसान्तमा तीन करोड ८२ लाख ३९ हजार ३०० रुपैयाँ रहेको बताए । चालू वर्षमा छ हजार ५०० शेयर सदस्य बनाउँदै छ करोड पूँजी पुर्याउने लक्ष्य रहेको उनले बताए ।
सहकारी पसल र बचत तथा ऋणको कारोबार गर्दै आएको सतासी सहकारीले गत आर्थिक वर्षमा ४५ करोड छ लाख ८० हजार रुपैयाँको वासलात बनाएको छ । संस्थासँग सो मितिमा २४ करोड ६९ लाख १६ हजार ५५५ रुपैयाँ निक्षेप मौज्दात रहेको छ भने ३५ करोड ६५ लाख रुपैयाँ सदस्यहरुमाझ कर्जा लगानी गरिएको छ ।
संस्थाले सञ्चालन गरिरहेको उपभोक्ता भण्डारमा दुई करोड ७१ लाख ६ हजार रुपैयाँको बिक्रीयोग्य सामग्री मौज्दात रहेको तथा समीक्षा वर्षमा एक करोड ६० लाख ८८ हजार रुपैयाँ खुद आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले आफ्ना सदस्यहरुलाई गत वर्षको शेयरमा २९ लाख ७० हजार ८७६ रुपैयाँ बोनस प्रदान गर्नेछ भने १९ लाख ९३ हजार ८७६ रुपैयाँ संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गर्नेछ ।
संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सञ्चालक सदस्य तथा शिक्षा उपसमितिका संयोजक ध्रुब कनालले समितिका कामहरुबारे बताए । गत आर्थिक वर्षमा १८ वटा तालिम कार्यक्रम सञ्चालन गरेको संस्थाले चालू वर्ष ५८ वटा विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको उनले सुनाए । तीमध्ये ३६ वटा सदस्य सहकारी शिक्षा तालिम हुने कनालको भनाई छ ।
Comments