Sajhamanch Archive

बुद्धशान्तिको बजेट ३७ करोड ११ लाख ९५ हजार

Published: in स्थानीय तह by .

बुधबारे । बुद्धशान्ति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष मिरा भुर्तेलले गाउँ परिषद् बैठकमा बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको गाउँ परिषद् बैठकमा उपाध्यक्ष भुर्तेलले आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक प्रस्तुत गर्दै ३७ करोड ११ लाख ९५ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा सशर्त अनुदान बाहेक कूल निशर्त विनियोजन २५ करोड ५५ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमध्ये चालुतर्फ ६ करोड १४ लाख २० हजार अर्थात २४ दशमलव ०३ प्रतिशत र पूँजीगततर्फ १९ करोड ४० लाख ९५ हजार अर्थात् ७५ दशमलव ९७ प्रतिशत रहेको छ ।

अनुमान गरिएको बजेटको स्रोत राजश्वबाट ५ करोड १६ लाख ३९ हजार, वित्तीय समानिकरण तर्फ १२ करोड ६४ लाख, राजश्व बाँडफाँड तर्फ ७ करोड ३७ लाख, प्रदेश सरकारबाट प्राप्त निशर्त अनुदान ३७ लाख ७६ हजार, संघीय सरकारबाट प्राप्त हुने ११ करोड ५७ लाखबाट व्यहोरिने उल्लेख छ ।

पस्तुत बजेटमा कृषिमा क्षेत्रको प्रवद्र्धनका लागि मल, विउ र कृषि औजारमा अनुदानको व्यवस्था गर्न ८० लाख विनियोजन गरिएको छ । साविकको शान्तिनगर हालको वडा नम्बर ५ मा पशु सेवा केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।

पर्यटकीय क्षेत्र धारागोला भ्यू टावरको निर्माण सम्पन्न गर्न १५ लाख विनियोजन गरिएको छ । बुद्धशान्तिको पहिचान झल्कने सुपारीको प्रतिमा निर्माणमा १५ लाख विनियोजन गरिएको छ ।

बुद्धशान्तिको शैक्षिक अवस्था र शैक्षिक संस्थाको स्तरोन्नतिका लागि विभिन्न शीर्षकमा १ करोड ६४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

२५ शैय्याको अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापनका गर्न ३० लाख, सामुदायिक स्वास्थ्य इकाई नभएका वडामा इकाई स्थापना गर्न १५ लाख, बुधबारे आयुर्वेद औषधालयको व्यवस्थापन तथा स्तरोन्नतिका लागि २७ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै रोजगारी प्रवद्र्धनका लागि लघु उद्यम कार्यक्रम सञ्चालन गर्न २० लाख, खेतीयोग्य जमिनमा सिंचाई र खानेपानीको आपूर्ति सहज बनाउन साना ठूला डिप बोरिङ सञ्चालन गर्न ८० लाख विनियोजन गरिएको छ ।

यसैगरी, बाुद्धशान्ति रिङरोड निर्माणमा ८० लाख, खलेकुदमा ५ लाख, विभिन्न ठाउँको कल्भर्ट निर्माणका लागि ४० लाख, चिलिमगढी सिमसार क्षेत्रमा तटबन्धन निर्माण गर्न ५ लाख लगायतको बजेट विनियोजन गरिएको छ ।

आजैको बैठकले आर्थिक विधेयक २०७५ संशोधनसहित पास गरेको छ भने बजेट माथिको छलफल २४ गते हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज राउतले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *