सतासीको १६औं साधारणसभा सम्पन्न
Published:
by .बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिवकुमार डाँगीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ४५ करोड छ लाख ८० हजार ७८७ रुपैयाँको वासलात बनाएको विवरण उल्लेख छ । राज्यले उपलब्ध गराएको बिऊ पूँजीबाट सहकारी पसल खोलेर देशकै नमूना बनेको सहकारी संस्थाले यसै वर्षबाट चिया प्याकेजिङ्ग उद्योग पनि सञ्चालनमा ल्याउने अध्यक्ष श्रेष्ठले सगौरव घोषणा गरे ।
सहकारी ऐन २०७४ को भावना बमोजिम सहकारी संस्थाहरुको साझेदारीमा उद्योग स्थापना गर्न पाउने प्रावधानलाई आत्मसात गर्दै साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीसँगको सहकार्यमा चिया प्याकेजिङ्ग उद्योग सञ्चालन गरी स्वदेश तथा विदेशसम्म बजारीकरण गर्ने उद्देश्य राखेर एक करोड ५० लाख रुपैयाँको बजेट बनाइएको अध्यक्ष श्रेष्ठले कार्ययोजना प्रस्तुत गरे ।
चार हजार १४१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी २०७६ असार मसान्तमा तीन करोड ८२ लाख ३९ हजार ३०० रुपैयाँ रहेको छ । चालू वर्षमा छ हजार ५०० शेयर सदस्य बनाउँदै छ करोड पूँजी पुर्याउने लक्ष्य रहेको उनले बताए ।
संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको साधारणसभा उद्घाटन समारोहमा प्रमुख अतिथि डाँगी, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संस्थाका रचनात्मक कामको प्रशंशा गर्दै आ–आफ्नो तर्फबाट सहयोग रहने बताए ।
सो अवसरमा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापाले साइवर अपराध सम्बन्धी चेतनामुलक मन्तब्य राख्दै घरायसी सुरक्षाका विषयमा सावधानी अपनाउन टिप्सहरु सुनाए ।
संस्थाका उपाध्यक्ष सुजता गुरुङ थापा मगरले आमन्त्रितहरुलाई शब्दले स्वागत गरेको साधारणसभाको उद्घाटन समारोहमा महिला उद्यमी संघ झापाका अध्यक्ष गोमा भट्टराई र एनआरएन अन्तर्राष्ट्रिय समितिका सदस्य दुर्गेश कार्कीले व्यवसायिक उन्नयनका लागि सहकारीसँग आफूहरुको साथ रहने विश्वास दिलाए ।
Comments