‘विज्ञ कर्मचारीको अभावमा सहकारी क्षेत्रमा केही गर्न सकिएन’ : अध्यक्ष लिङ्देन
Published:
by .हल्दिबारी । ‘मेहनत गरे भेटिन्छ हिरा खानी हो खेतबारी, आयो है यहाँ कृषकका लागि उत्कृष्ट कृषि सहकारी’ नारा बनाएर कार्यान्वयन गरिरहेको हल्दिबारी १ गोलधापको उत्कृष्ट कृषि सहकारीले आज शुक्रबार पाँचौं स्थापना दिवस तथा पाँचौ वार्षिक साधारणसभा एकसाथ सम्पन्न गरेको छ ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा संस्थाले पुराना सञ्चालकहरु, उत्कृष्ट कारोबारी सदस्यहरु, ज्येष्ठ नागरिकहरु एवम् कर्मचारीहरुलाई सम्मान गरेको छ ।
साधारणसभाको उद्घाटन पछि मन्तव्य राख्दै पालिका अध्यक्ष लिङ्देनले उत्कृष्ट सहकारीका सञ्चालक एवम् कर्मचारीको सक्रियताको प्रशंशा गर्दै पाँच वर्षको छोटो अवधिमा प्राप्त सफलताको सराहना गरे । तर पालिकाले स्थानीय सहकारीहरुलाई कुनै सरसहयोग गर्न नसकेकोमा आत्मालोचना गरे ।
भने, ‘आफ्नो गाउँपालिकामा सहकारी बुझेको कर्मचारी नहुनु अनि प्रदेश सरकारले पनि सहकारी ऐन बनाएर कार्यान्वयन नगर्दा सहकारी दर्ता गर्नसमेत अवरोध छ । सहकार्य गर्न सकिने धेरै अवसरहरु पाए पनि विज्ञ कर्मचारीको अभावमा केही गर्न सकेको छैन, त्यसमा म आत्मालोचित छु ।’
‘झापामा सहकारीसँग धेरै पैसा छ । त्यसलाई परिचालन गरी यहाँका नागरिकलाई सुविधा दिन पालिकाहरुसँग साझेदारीमा काम गर्न सहकारीकर्मीहरु पनि इच्छुक हुनुहुन्छ । तर प्रदेश सहकारी ऐन नबनेकाले केही गर्न सकिएको छैन, सहकारीमा अझै संक्रमणकाल कायमै रहेको पाएको छु’ गाउँपालिका अध्यक्ष लिङ्देनको जिकिर छ ।
उत्कृष्ट कृषि सहकारीका अध्यक्ष रुकम गुरुङले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको संस्थागत संरचना, वित्तीय कारोबारको अवस्था, सदस्यहरुलाई दिइँदै आएको सेवा सुविधासहित चालू वर्षका लागि निर्धारित नीति र कार्यक्रमहरु सुनाए ।
प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ४३ लाख ७५ हजार ८०० रुपैयाँ रहेको छ भने निक्षेप बचत दुई करोड ४९ लाख ८१ हजार ५२९ रुपैयाँ र कर्जा लगानी एक करोड ८० लाख ९७ हजार ८६ रुपैयाँ रहेको छ । संस्थामा एक हजार ६८३ जना शेयर सदस्य छन् भने कोष रकम नौ लाख ७४ हजार ९३८ रुपैयाँ रहेको उल्लेख छ ।
संस्थाका सहसचिव सुमन नेम्वाङले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित पाहुना तथा संस्थाका शेयर सदस्यहरुलाई उपाध्यक्ष तिलकबहादुर कार्कीले शाब्दिक स्वागत गरेका थिए । साधारणसभाको अवसरमा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटा, साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, जागृति क्याम्पसका प्रमुख हरिप्रसाद संग्रौलालगायतले आफ्ना धारणा राखेका थिए ।
सम्मान र पुरस्कार
पाँचौं स्थापना दिवसको अवसरमा संस्थाले व्यवस्थापक सोमनाथ सुवेदीलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । यस्तै कर्मचारीहरु टंकप्रसाद रिजाल, चन्द्रलाल पाठक, सुजता विष्ट र सोममाया राईलाई सम्मानित गरेको छ ।
संस्थाको कारोबार क्षेत्रमा बसोबास गर्ने गौरीशंकर भट्टराई र हरिप्रिया भण्डारीलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरेको छ भने युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटालाई विशेष सम्मान गरिएको छ ।
सञ्चालक समिति एवम् लेखा समितिमा रहेर विशेष योगदान गर्ने संस्थाका सदस्यहरुलाई उत्कृष्टले सम्मान प्रदान गरेको छ । जसअनुसार लेखा समितिका संयोजक रमेश ढकाल र सदस्य ओमराज श्रेष्ठ तथा सञ्चालक समितिका सहसचिव कृष्णराज पौडेललाई सम्मान पत्र प्रदान गरिएको हो ।
समीक्षा वर्षमा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु पनि साधारणसभाको अवसरमा सम्मानित एवम् पुरस्कृत भएका छन् । बचततर्फ उत्कृष्ट कारोबारी मदनप्रसाद न्यौपाने, कर्जा लिएर उत्कृष्ट उद्यमी बन्ने प्रेमा तामाङ र कृषक शर्मिला थेवे योङहाङ सम्मानित र पुरस्कृत गरिए ।
यसैगरी कृषि सामग्री खरिदकर्ता उमाकान्त भट्टराई र विप्रेषण सेवाग्राही कुमार अधिकारीले सम्मान प्राप्त गरेका छन् ।
Comments