‘सहकारीको सफलता सदस्यको उद्यमशीलताले देखाउनु पर्छ’ : सांसद लिङ्देन
Published:
by .बिर्तामोड । प्रतिनिधिसभामा झापा क्षेत्र नं. ३ का सदस्य राजेन्द्र लिङ्देनले मुलुकी बजेट अनुदान र अनुमानको भरमा चलिरहेको वर्तमान अवस्थामा सिङ्गो अर्थतन्त्र सकारात्मक बनाउन नेपालको सहकारी अभियानले यथेष्ट भूमिका खेलिरहेको बताएका छन् ।
सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाको आज बिर्तामोडमा आयोजित १२औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका सांसद लिङ्देनले सहकारीले जनताको घरदैलोमा पुगेर दिइरहेको वित्तीय सेवाले आर्थिक समृद्धिमा बल पुर्याएको पनि बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद लिङ्देनले केही सहकारीले गरेको बद्मासीका कारण सरकारले थप कडा प्रकृतिको नियम कानून बनाएर ऐन नियममा नै चलिरहेका हजारौं सहकारीलाई समेत काम गर्न असहज बनाएको प्रतिक्रिया दिए ।
सहकारी संस्थाहरुले सदस्यलाई ऋण लगानी गर्ने, ब्याज कमाउने अनि ऋण रकम सकुशल फिर्ता लिनुलाई सफलता नठान्न सहकारीकर्मीहरुलाई उनले आग्रह गरेका छन् । सांसद लिङ्देनले भनेका छन्, ‘तपाईंको संस्थाले रोजगार प्रवद्र्धन हुने दिशामा लगानी गर्नु भयो कि भएन ? सदस्यलाई उद्यमी बनाउन सक्नु भयो कि भएन ? त्यो मूल प्रश्न बन्नुपर्छ । सहकारीको सफलता तबमात्र देखिन्छ जब ऋणि सदस्यको उद्यमशीलता झल्किनेछ ।’
संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित साधारणसभामा उनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष चुडालले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ को वित्तीय कारोबारका तथ्याङ्कहरु, चालू आर्थिक वर्षका लागि तय गरिएका कार्यक्रमहरु उल्लेख छन् ।
प्रतिवेदन अनुसार समीक्षा वर्षमा संस्थाको वासलात २५ करोड ६५ लाख ४० हजार ५९५ रुपैयाँको रहेकोमा चालू वर्षका लागि ३३ करोड ५४ लाख ८९ हजार ९१६ रुपैयाँको लक्ष्य लिएको छ । प्रतिवेदन वाचन गर्दै संस्थाका अध्यक्ष चुँडालले २०६४ सालमा ४० जना सदस्यहरुबाट ४ लाख ९० हजार रुपैयाँ शेयर पूँजीबाट सुरु गरेको सञ्जिवनीले १२ वर्षको अवधिमा १ हजार ९०८ जना शेयर सदस्यबाट २ करोड २१ लाख एक हजार ६०० रुपैयाँ पुर्याएको बताए ।
समीक्षा वर्षमा ३५ लाख ६८ हजार १२४ रुपैयाँ खुद नाफा गरेको संस्थाले सदस्य परिवारमा हुने जन्मदेखि मृत्युसम्मका अनेकन सुख दुःखका कार्यहरुमा सहयोग पुर्याउने गरिएको छ । यस्ता सामाजिक कार्यहरूमा पाँच लाख ५६ हजार ८१० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाको उद्घाटन समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सहसचिव उपेन्द्र ओलीले सञ्जिवनीले अघि सारेका धेरै कार्यक्रमहरु सदस्य लक्षित रहेकाले संस्था सफल बन्नेमा विश्वास व्यक्त गरे । उनले पेन्सन बचत कार्यक्रमको सराहना गर्दै यसको सदस्यता बिस्तार गर्न सुझाव दिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले वार्षिक प्रतिवेदनमा राम्रो र गरेका कामहरुको फेहरिस्तामात्र समेटिएकाले आगामी वर्षदेखि सञ्चालकहरुले गर्न चाहेर पनि सम्पन्न गर्न नसकिएका विषयहरु पनि उल्लेख गर्न सुझाव दिए ।
अधिकृत दाहालले संघीय सहकारी ऐन जति कठोर थियो उत्तिनै कठोर प्रादेशिक ऐन पनि बनेको आफूले जानकारी पाएको बताए । सहकारीले गर्ने कामको पारदर्शिताका लागि सहकारी विभागले कार्यान्वयनमा ल्याएको कोपोमिसलाई सबै सहकारी संस्थाले अवलम्बन गर्न ढिलाई गर्न नहुने उनको सुझाब छ ।
साधारणसभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक कमला शिवाकोटीले संस्थाले सहकारी ऐन, नीति, विधि एवम् संस्थाको विनियममा नै आधारित रहेर काम गरिरहेको सुनाइन् ।
संस्थाका व्यवस्थापक कृष्णप्रसाद खरेलले सञ्चालन गरेको साधारणसभाको उद्घाटन समारोहमा कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिएस प्रधान, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रबन्धक मुना घिमिरे र संस्थाका उपाध्यक्ष दिनेश सुवेदीले आ–आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा २०७५ सालमा सञ्चालन भएको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । यस्तै, आर्थिक योगदानका आधारमा ५ जना उत्कृष्ट सदस्य, ३ जना असल बचतकर्ता, ३ जना असल उद्यमी सदस्यहरु सम्मानित भएका छन् ।
साधारणसभाको उद्घाटन समारोहमा साझामञ्चले छायाङ्कन र सम्पादन गरेको १६ मिनेट लामो डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।
Comments