Sajhamanch Archive

असोज १६ गते दमकमा प्रधानमन्त्री ओलीको चियापान

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमी, शुभदिपावली, छठ लगायत पर्वहरुको अवसरमा हरेकवर्ष झापामा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आगामी असोज १६ गते दमकमा गर्ने भएका छन् ।

विगत वर्षहरुमा महानवमीको दिन बिर्तामोडमा गरिँदै आएको चियापान कार्यक्रम यो वर्ष केही दिन अघि दमकमा गर्ने तयारी गरिएको पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

‘यो वर्ष असोज १६ गते बिहीवार दमकमा चियापान कार्यक्रमसहित शुभकामना आदान प्रदान गरिने भएको छ । उक्त कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा पार्टी जिल्ला कमिटीको ब्यवस्थापनमा हुनेछ’ अध्यक्ष पाठकले बताए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सोही दिन औद्योगिक पार्कको निर्माण शिलान्यास गर्ने र मावा पूलको उद्घाटन पनि गर्ने कार्यक्रम रहेको अध्यक्ष पाठकले जानकारी गराए ।

नेकपा झापाका नेता कार्यकर्तासँगको भेटघाटका क्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग महत्वपूर्ण विषयमा छलफल गरिएको र पार्टी कामको रिपोर्टिङ गरिएको झापा अध्यक्ष पाठकको भनाई छ ।

अध्यक्ष पाठकका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा मदन भण्डारी रंगशाला, जिल्लामा फलफूल उत्पादन, जुस उद्योग र वनको विकास, जिल्लाको विभिन्न ठाउँका अव्यवस्थित जग्गाहरुको लालपूर्जा वितरण, खोलाहरुको तटबन्ध लगायतका विषयमा पनि छलफल भएको छ ।

उक्त छलफलमा प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, झापा सह–इन्चार्ज देवेन्द्र दाहाल, जिल्ला अध्यक्ष चिन्तन पाठक, प्रदेश कमिटी सदस्य गगन पुरी, जिल्ला कमिटी सदस्य राधाकृष्ण खनाल र वेनु सिवाकोटी, आर्थिक विभागका सदस्य सुरज काफ्लेलगायतको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *