Sajhamanch Archive

हामी बदलिए बन्छ नेपाल

Published: in मुख्य समाचार, राजनीति, विचार/ब्लग, समाज, by .

बडादशैंको रमझम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर १ को पार्टी कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो । फेसबुकको भित्तामा निम्ताका थुप्रै पोष्ट टाँसिएका थिए । त्यसैबाट जानकारी पाएको थिएँ । एक दिन अगाडि आयोजक कमिटीका संयोजक प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले फोन गरेरै निम्ता गर्नुभयो । यसै पनि सो कार्यक्रममा जाने मन बनाएकै थिएँ । लोभ थियो पार्टीका पुराना साथीहरुसँग भेटघाट हुनेछ । प्रसङ्ग हो, गत शुक्रबार असोज १७ गते मेचीनगरको धुलाबारीस्थित पासाङ ल्हामु जेसीज हलमा भएको एक कार्यक्रमको ।

कार्यक्रम शुरु हुने समय दिनको ११ बजे भनिएको थियो । ठाकुर सिवाकोटी र म हतार गर्दै ११ बजेर १५ मिनेटमा कार्यक्रमस्थलमा पुगेका थियौं । केही सहभागी हलमा थिए । कार्यक्रम कुन मोडलमा हुन्छ म अनविज्ञ थिएँ । कार्यक्रम शुरु नहुनुको फाइदा लिँदै केही साथीहरुसँग भेटघाट र भलाकुसारी गरियो । ११ः४५ तिर कार्यक्रम शुरु भयो । प्रमुख अतिथि राम कार्की कार्यक्रम शुरु भएपछि नै आउनु भयो । उद्घोषकको लामो भाषण, मञ्चमा खचाखच अतिथि, स्वागत भाषणमा उही क्रान्तिकारी कुरा, शुभकामना दिन उभिने नेताका उस्तै पट्यारलाग्दा क्रान्तिका कुरा, कम्युनिष्ट पार्टीको लक्ष, कार्यकर्तालाई उपदेश आदिले निरन्तरता पाइरहेका थिए ।

कार्यक्रम शुरु भएको करिव १ घण्टा बित्न लाग्दा पनि पार्टीका प्रदेशस्तरका नेताहरुको आगमन र आसन ग्रहण निरन्तर थियो । व्यस्तताले पूरै समय बस्न पाइँन । मलाई राम कार्कीको मन्तव्य सुन्ने इच्छा भएर पनि पर्खन सकिनँ । माननीय श्रीप्रसाद मैनालीलाई जानकारी गरेर ठाकुर जी र म बाहिर निस्कियौं । बाहिर पनि मानिसको चहलपहल बाक्लै थियो । कार्यक्रममा नयाँ पुस्ताको उपस्थिति थिएन भन्दा हुन्छ । जसले लामो समयदेखि पार्टीको झण्डा बोकेर आन्दोलनमा होमिएका थिए, उपस्थिति तिनकै थियो । म पनि तिनैमध्येको एक थिएँ ।

मैले यो कार्यक्रममा केही नयाँपनको आशा गरेको थिएँ । जस्तो कार्यक्रमको औपचारिकता एकदमै कम, पार्टीको तर्पmबाट जितेका संघीय र प्रदेश सांसद, नगरपालिकामा उपमेयरसहित बहुमत सदस्य । विशेष गरेर निर्वाचित सबै तहका जनप्रतिनिधिहरुले उभिएर सबैलाई अभिवादन गर्ने, शुभकामना दिने–लिने र चियापानको व्यवस्था गरेको भए हुन्थ्यो जस्तो लागेको थियो । यसोगर्दा मजस्ता साथीभाइहरुसँग भेट गर्न चाहने, नेताहरुलाई हात मिलाएर अभिवादन भन्ने अवसर पाउने, शुभकामना आफूले पनि दिन पाउने र लिन पाउने अवस्था हुने थियो । त्यो अवसर यो कार्यक्रमले कमै दियो वा दिएन । कार्यक्रमको आयोजक पार्टी बनेको भए पनि सहभागी हुन पार्टी बाहिरकालाई पनि बोलाएको भए अझै राम्रो हुने थियो । किनकि निर्वाचित जनप्रतिनिधि पार्टीका मात्रै होइनन् ।

यतिखेर जनप्रतिनिधिप्रति पार्टीका नेता र कार्यकर्ताको गुनासो हुने गरेको छ । अझभन्दा जो विभिन्न तहका सरकारमा बसेर काम गरिरहेका छन्, अर्थात् जनप्रतिनिधिको भूमिकामा छन्, तिनको धेरै आलोचना हुने गरेको छ । यस्तो आलोचना केन्द्रदेखि गाउँ–नगर हुँदै वडासम्मै पुग्ने गरेको छ । यो कार्यक्रममा पनि शुभकामना दिन उभिएकाहरुले यसको छनक दिइसकेका थिए । किन हुन्छ यस्तो ?

सायद आम मानिस र पार्टीका कार्यकर्तामा आपूmले पार्टीको टिकट प्राप्त गर्न, निर्वाचित हुन अलि बढी नै आश्वासन बाँढ्यौं । अलि महत्वकांक्षी नेता एवम् कार्यकर्तामा आफू त्यो अर्थात् निर्वाचित स्थानमा नभएकोमा अलि चित्त दुखाई होला । अरुलाई कमजोर देखाएर आफ्नो उचाई बढाउने प्रयास पनि होला । तर आम कार्यकर्ता र जनसाधारणमा यस्तो आग्रही भाव देखिँदैन । तर पनि किन असन्तुष्ट छन् त !? मलाई लाग्छ नेताले आफ्नो सीमा नबुझिकन जनतालाई आश्वासन दिएका छन् । अर्को कारण जनता पनि नेताले के गर्न सक्छन्, के गर्नु हुन्छ, के गर्नु हुँदैनजस्ता कुरा नबुझी नेताले जसरी पनि यो गरिदिनु पर्छ भन्ने गर्छन् । नेताले सिस्टम र नियमको कुरा जनतालाई बुझाउनभन्दा व्यक्तिगत जस लिनेगरी टालटुले कुरामा धेरै ध्यान दिएको देखिन्छ ।

हाम्रो समाजमा कार्यकर्ता र आममानिस नेतासँग के माग्ने भन्नेमा पनि प्रष्ट छैनन् । यसबारेमा जनतालाई बुझाउने अभ्यास भएकै छैनभन्दा हुन्छ । जे पनि नेताले गरिदिनु पर्छ । चन्दा दिने, उपचार गरिदिने, विकास गरिदिने, अपराध गरेकोलाई पनि भनसुन गरेर छुटाई दिने, कार्यकर्ता पाल्न खर्च दिने, नीति नियम बनाई दिने, भत्काई दिने सबै काम नेताले गर्नुपर्छ भन्ने आम बुझाई छ । नेतासँग गरिने अपेक्षा नै गलत भएपछि ती सबै अपेक्षा नेताले पूरा गर्न सक्ने कुरै भएन । त्यसपछि नेतासँग कार्यकर्ता र जनताको दूरी बढनु स्वभाविक हो । हामी अहिले यही देखिरहेका छौं, भोगिरहेका छौं ।

हामी अहिले अरुलाई दोष दिएर आफू चोखो बन्ने, अरुको कमजोरी कोट्याएर आफू असल बन्ने, अरुलाई होच्याएर आफू ठूलो हुन खोज्ने यूगमा अर्थात् समयमा छौं । र, यसको प्रयोग धेरैभन्दा धेरै राजनीतिमा हुने गर्छ । त्यसैले राजनीतिमा सकारात्मक सोच, चिन्तन, आलोचना सकिएको हो कि जस्तो लाग्छ । अहिले कुनै असल मनसाय भएको मानिस पहिला त नेता हुन सक्दैन, भएछ नै भने टिकिरहन सक्दैन जस्तो अवस्था छ । यो सबै व्यक्तिवादी सोचको उपज हो । पार्टी, समूह, गुट जे बनेका छन् ती सामुहिक र बृहत हितका लागिभन्दा पनि सबैसबैका व्यक्तिगत महत्वकाङ्क्षा पूरा गर्ने मनसायले जोडिन पुगेका समूह, क्लबजस्ता भएका छन् । त्यसैले त्यहाँ नीतिका बारेमा खासै बहस हुँदैन, नियम मान्ने र नमान्नेका कुरा हुँदैन । आफूलाई केन्द्रमा राखेर, आफ्नो मानसम्मान, पोजिसन, सुख सुविधा आदिलाई ध्यानमा राखेर नीति बन्छ । कार्यक्रम हुन्छ । विकासको काम हुँदा कमिशन आउँदैन, व्यक्तिगत जस पनि पाइन्छ कि पाइँदैन भन्ने अवस्था भयो भने त्यहाँ विकास किन गर्ने भन्ने मनस्थिति नै अहिलेको अवस्था हो ।

देश पार्टीले बनाउने हो, पार्टीले नै देश चलाउने हो, सबै तहका सरकारमा पार्टीले पठाएका र जिताएका मानिस हुन्छन् । तिनकै हुकुम र शासन चलिरहेको छ । तिनलाई भेट्न मानिसको लाइन लाग्छ । अगाडि पर्दा सबैले आदर गर्छन् सम्मान गर्छन् । खास मानिसले जयजयकार पनि गर्छन् । तर, नेताप्रतिको सम्मानभाव नेताको अनुपस्थितिमा देखिँदैन । नेताले विकास गरिदिउन्, नेताले देश बनाई दिउन्, नेताले सबैको कामना पूरा गरुन, नेता आदर्श हुन्, नेता नैतिकवान्, चरित्रवान् हुन् भनेर चाहने तर आफैंले चाहिँ गर्नुपर्ने के हो ? त्यतातिर कत्ति पनि ख्याल नगर्ने समाज होभन्दा सायद धेर हुदैन । हामी सबैले चाहेको समृद्ध नेपाल सुखी नेपाली हो । यसमा दुईमत छैन ।सो दिनको कार्यक्रममा वक्ता सबैले समृद्ध नेपाल सुखी नेपालीको अभिभारा कम्युनिष्ट पार्टीको सरकारले पूरा गर्नुपर्छ भनेर भाषण गरे । यो ठीक हो । तर, पूरा गर्ने कसले र कसरी भन्ने विषयमा हामी एक अर्कालाई देखाएर र अरुलाई दोष दिएर पन्छिन रुचाउँछौं । यहाँ त्यस्तै आभास पाइन्थ्यो ।

म जतिखेर राजनीतिमा लागें, त्यतिखेर पनि समृद्ध देश र सुखी नेपाली भएको हेर्ने इच्छाले नै लागें । यद्यपि त्यो बेला यो नारामा भन्दा पनि भावनामा लागिएको थियो । म अलिअलि राजनीति बुझ्ने हुँदा लाग्थ्यो, यो देशमा पञ्चायती व्यवस्था भएसम्म समृद्ध देश र सुखी नेपालीको उद्देश्य पूरा हुँदैन । त्यसैले सबै मिलेर पहिला पञ्चायत ढाल्नुपर्छ । पञ्चायत ढाल्न सकेसम्म लागियो । पञ्चायत गल्र्याम्म ढल्दा कम्ती खुसी भइएन । त्यसपछि लाग्यो पार्टी ठूलो बनाउनु पर्छ । बहुदलीय व्यवस्थामा पार्टी ठूलो भएपछि सरकार बनाउन सकिन्छ, सरकार बनाउन जनताको मत चाहिन्छ । सबै जनताको मत बराबर हुन्छ । त्यसैले मत धेरै बटुल्न सिद्धान्तको रटान छाड्नु पर्छ । पार्टी ठूलो बनाए पछि सरकार बन्छ । सरकार बनाए पछि समृद्ध नेपाल सुखी नेपालीको चाहना पूरा हुन्छ । यस्तै लाग्थ्यो ।

सरकार त पटकपटक बन्यो तर बहुमतको बनेन । राजसंस्था रहेसम्म पार्टी बलिया हुँदैनन् भन्ने लाग्यो, पार्टी बलियो नहुँदासम्म देश बनाउन सकिँदैन भन्ने लाग्यो । देशमा गणतन्त्र ल्याउन खुब बल गरियो । गणतन्त्र आयो । पार्टी ठूलो बनाउन त्यस्तै बल गरियो । तर पार्टी कहिले फुट्यो र कहिले जुट्यो । फुट्नमा स्वार्थी नेताको चाहना धेरै देखियो भने जुट्नमा कार्यकर्ताको चाहना । कम्युनिष्ट पार्टी धेरै हुँदा देश बन्दैन भन्ने लाग्यो । समृद्ध नेपाल बनेन भन्ने लाग्यो । स्वार्थ मिल्यो कि कुरा मिल्यो त्यो म यसै हो भन्न सक्तिन । तर, जे होस् नेताले साहस गरे, चमत्कार जस्तै भयो । ठूला दुईवटा कम्युनिष्ट पार्टी मिले । पार्टीले बहुमत मात्रै होइन दुई तिहाईको जत्तिकै बहुमत ल्यायो । अब पक्कै समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा पूरा हुन्छ भन्ने लागेको थियो ।

अहिले अरुले देख्दा जे पनि गर्न सक्ने भएका छौं । अब त समृद्ध नेपाल सुखी नेपाली हुनुपर्ने हो जस्तो धेरैलाई लाग्न सक्छ । हिजोको कार्यक्रममा वक्ताले अब पूरा हुन्छ, पूरा गर्नुपर्छ, हामीले गर्छौं भने । तर मलाई अलि भिन्न लाग्न थालेको छ । मलाई जस्तै अरुलाई पनि भाषणमा अर्ति दिने र अरुलाई दोष लगाउने नेताले नै समृद्ध देश बनाउलान् भन्ने लागेको छैन । मलाई लाग्न थालेको छ, हामी सबैेले आ–आफ्नो काम ठिकठीक तरिकाले गरेपछि मात्रै समृद्ध नेपाल सुखी नेपाली हुने रहेछ । आ–आफ्नो काम ठिकठीक तरिकाले गर्न के गर्नुपर्छ ? यसबारेमा मलाई लाग्छ हामी बद्लिनु पर्छ । अर्थात म बदलिनु पर्छ । म पुरानै सोच, चाहना र कार्यशैली बोकेर नयाँ चाहना पूरा हुँदैन । मेरो पुरानो सोच र शैलीले त म मात्रै बन्ने हो । त्यसैले अब म बन्ने अभियानबाट हामी बन्ने अभियानमा लाग्न सक्यौं भने अर्थात् हामीले आफैंलाई परिवर्तन गर्न सक्यौं भने मात्रै समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा हुनेरहेछ भन्ने यतिका वर्ष पछि बल्ल लागेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *