Sajhamanch Archive

दमकमा प्रधानमन्त्री ओलीको चाडपर्व विशेष शुभकामना र चियापान

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । विगत २५ वर्षदेखिको अभ्यासलाई निरन्तरता दिँदै नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज दमकमा चाडपर्व विशेष शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम गरेका छन् ।

प्रधानमन्त्रीको रुपमा तेस्रो पटक र पार्टीको विभिन्न जिम्मेवारीमा रहँदा २०५१ सालदेखि केपी शर्मा ओलीले दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएका हुन् ।

विगत वर्षहरुमा झापाको बिर्तामोडमा आयोजना गरिँदै आएको शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष दमकमा गरिएको हो । दमक प्रधानमन्त्री ओलीको गृहनगर तथा निर्वाचन क्षेत्र हो ।

आज भद्रपुर विमानस्थल हुँदै यति एयरबाट झापा ओर्लिएका प्रधानमन्त्री ओली दमकको कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रम सम्पन्न गरी आजै बेलुका भद्रपुर हुँदै काठमाडौं फर्किने कार्यक्रम रहेको नेकपा झापाका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले २०५१ सालदेखि निरन्तर दशैं, तिहार, छैठलगायत पर्वका अवसरमा झापामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएका छन् । तर स्वास्थ्य उपचारका कारण २०६३ सालको पर्वका अवसरमा भने शुभकामना आदानप्रदान कार्यक्रम हुन सकेको थिएन ।

अरु समयका कार्यक्रममा विपक्षीहरुप्रति चोटिलो शब्द प्रहार गर्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आज भने सबैलाई शुभकामनाका शब्दहरुमात्र दिए । कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सुधिरकुमार शिवाकोटी, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसहित सहभागी छन् ।

सो कार्यक्रमको संयोजन नेकपा झापा जिल्ला कमिटीले गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *