मातृ भाग्यरेखा साकोसले गतआवमा ३३,६१,८३८ रुपैयाँ खुद मुनाफा कमायो
Published:
by .बिर्तामोड । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको आठौं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्षको वासलात अंकमा समीक्षा वर्षमा ३३ प्रतिशतले वृद्धि गरी सात करोड ८० लाख १८ हजार ३३० पुर्याइएको जनाइएको छ ।
संस्थामा ८४४ जना शेयर सदस्यहरुबाट दुई करोड ५९ हजार ६२ रुपैयाँ शेयर पूँजी पुर्याइएको तथा गत असार मसान्तमा १४ करोड ९५ लाख २६ हजार ८३० निक्षेप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले गत आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा ९६ प्रतिशतले मुनाफा बृद्धि गरेको जनाइएको छ । अध्यक्ष दाहालका अनुसार समीक्षा वर्षमा संस्थाले ३३ लाख ६१ हजार ८३८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले वित्तीय कारोबारसँगै मातृ भाग्यरेखा साकोसले सदस्यको परिवारमा आइपर्ने सुखदुखमा साथ दिँदै आएको जानकारी गराए ।
उनका अनुसार शेयर सदस्यका परिवारमा कसैको निधन भएमा राहत प्रदान गर्ने, स्वास्थ्य उपचारमा सहयोग प्रदान गर्ने, सदस्यको परिवारमा कसैको स्वास्थ्य उपचार गर्नुपरेमा संस्थाले तोकेको अस्पतालमा गएमा उल्लेख्य छुट दिइँदै आएको छ ।
साधारणसभाको उद्घाटन समारोहमा संस्थाका संकलक कर्मचारी गंगा भट्टराईलाई २१ सय रुपैयाँसहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो । यस्तै बिर्तामोड २ का दिपक बर्मन र कनकाई ३ का पुष्पा काफ्लेलाई जनही १५ सय रुपैयाँसहित उत्कृष्ट बचतकर्ता पुरस्कार प्रदान गरियो ।
संस्थामा कर्जा कारोबार गरी भाकाभित्रै सावाँ ब्याज बुझाउने तथा कर्जा रकम सही सदुपयोग गरी आत्मनिर्भर बनेको ठहर गरी कनकाई ३ का सीतादेवी सहनी र सुरेन्द्र प्रधानलाई पनि जनही १५ सय रुपैयाँसहित उत्कृष्ट कर्जा कारोबारी पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख महतराले सहकारीका माध्यमबाट ठूलठूला विकास निर्माणसहित उद्योग प्रतिष्ठानहरु सञ्चालन गर्न सकिने ऐनमा व्यवस्था रहेको बताइन् । सहकारीले सदस्यको वित्तीय आवश्यकता पूरा गर्ने मात्र नभई सामाजिक क्षेत्रका अनेकन पाटाहरुमा थुप्रै काम गरिरहेको उनको भनाई छ ।
कतिपय देशमा सहकारीको माध्यमबाट उपभोग्य वस्तुहरु उत्पादन गरेर स्वदेशमा मात्र नभई विदेशसम्म बजारीकरण गरिरहेको सुनाउँदै उपप्रमुख महतराले नेपालमा पनि विशिष्ट सहकारी संस्था बनाएर बस्तु वा सेवाको ब्यापार गर्न आव्हान गरिन् ।
सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले सहकारी ऐन, नियमावली, नगरपालिकाले बनाएको सहकारी ऐन तथा मातृ भाग्यरेखा साकोसको विनियमका बारेमा अमिल्दा पक्षका बारेमा सुझावसहित चर्चा गरे । उनले संस्थाको वित्तीय विश्लेषण गर्दै सदस्यहरुलाई आफ्नै संस्थामा कारोबार गरेर एक संस्था एक सदस्यको नियम पालना गर्न आग्रह गरे ।
साधारणसभाको उद्घाटन समारोहमा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, संस्थाका सल्लाहकार प्रेम दाहाल, साना मझौला व्यवसायी साकोसका अध्यक्ष देवी निरौला बस्नेत, पत्रकार भिमा शिवाकोटी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
संस्थाका सचिव गणेशप्रसाद शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि तथा सेयर सदस्यहरुलाई लेखा सुपरीवेक्षण समितिका सदस्य रामप्रसाद घिमिरेले शाब्दिक स्वागत गरेका थिए ।
Comments