विपन्न विद्यार्थी सहयोगार्थ बुधबारेमा फुटबल जर्सी स्टल
Published:
by .बुधबारे । ‘तपाईं खेल जितेर हिपहिप हुर्रे, बालबालिका तपाईबाट पाएपछि हिपहिप हुर्रे’ भन्ने नाराका साथ झापा बुधबारेका ६ युवाले विपन्न विद्यार्थीको सहयोगार्थ सञ्चालन गरेको जर्सी स्टलबाट संकलित रकमले बुद्धशान्ति गाउँपालिकाका सबै वडाका ३५ जनाभन्दा बढी विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने भएको छ ।
विश्वकप फुटबल २०१८ सुरु हुनुभन्दा ७ दिन अघिबाट बुद्धशान्तिका गोकुल पौड्याल, अनिल वाग्ले, दिवस शिवाकोटी, रमेश तिम्सिना, दिनेश खतिवडा र पवन खनालको टोलीले आप्mनै लगानीमा जर्सी स्टल राखेका हुन् ।
सो स्टलमा विश्वकपमा सहभागी विभिन्न देशका जर्सी राखिएका थिए । स्टलबाट उठेको रकम बुद्धशान्तिका विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने अभियन्ता शिवाकोटीले जनाएका छन् ।
जर्सी स्टलबाट १३ हजार ५०० रुपैयाँ नाफा भएको अभियानका अर्का सहभागी गोकुल पौड्यालले जनाएका छन् ।
शैक्षिक सामग्री प्रदान गर्दा ७ वडाका ७ विद्यालय छनौट गरी ती विद्यालयका पनि अति विपन्न ५–५ जना विद्यार्थी चयन गरी सामग्री प्रदान गरिने अभियन्ता अनिल वाग्लेले जनाएका छन् ।
विपन्न वर्गका विद्यार्थीको सहयोगार्थ जर्सी स्टल राखिरहँदा कार्यक्रम सफल पार्न सहयोगी मनहरु पनि थपिएका छन् । विपन्न वर्गका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएकाले यस कार्यप्रति प्रभावित हुँदै विभिन्न सहयोगीहरुले सहयोग प्रदान गर्ने क्रम जारी रहेको जनाइएको छ ।
फुटबल विश्वले रुचाएको खेल भएकाले त्यसको मज्जा नेपालीहरुले पनि लिने हुँदा विश्वकपलाई सेवासँग जोडेर आफूहरुले नयाँ कार्यको थालनी गरेको सहभागी रमेश तिम्सिनाले बताएका छन् ।
त्यस्तै सहभागी दिनेश खतिवडाले विश्वकप सकिसके पछि कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई सामग्री प्रदान गरिने जानकारी दिए ।
Comments