असल समाज निर्माण गर्न सहकारीको भूमिका महत्वपूर्णः सांसद निरौला
Published:
by .बिर्तामोड । बिर्तामोडस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा आठ आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा दुई करोड ६९ हजार २५३ रुपैयाँको वासलात बनाएको उल्लेख छ । ७३० जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी ६१ लाख ४६ हजार ६०० रुपैयाँ रहेको छ ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रसाईंले वित्तीय कारोबारसँग आत्मनिर्भर महिला साकोसले सदस्यको परिवारमा आइपर्ने सुखदुखमा साथ दिँदै आएको र सामाजिक गतिविधिमा साकोसले विविध तरिकाले सहयोग गरेको जानकारी गराइन ।
साधारणसभाको उद्घाटन समारोहमा संस्थाका ज्येष्ठ शेयर सदस्य डुकादेवी प्रसाईंलाई सम्मानित गरिएको छ भने असल बचतकर्ताका रुपमा विष्णुमाया दंगाललाई सम्मान गरियो ।
त्यसैगरी असल ऋण कारोबारीका रुपमा सितामाया विश्वकर्मालाई सम्मानित गरिएको कार्यक्रममा फूलमाया भण्डारी, धनमाया मैनाली, अम्बिका ढकाल र विष्णुमाया घिमिरेलाई ज्येष्ठ नागरिकका रुपमा सम्मान गरियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सांसद पवित्रा निरौला खरेलले असल समाज निर्माण गर्न सहकारी देशको लागि खम्बा भएकाले भविष्य कोर्न आजैबाट बचत गर्ने बानीको विकास गर्नु जरुरी रहेको बताइन् । सांसद निरौलाले सहकारीका माध्यमबाट शिक्षा, स्वास्थ्यसहित विकास निर्माणका कार्यहरु गर्नसमेत जोड दिइन् ।
त्यसैगरी प्रदेश सभासद एकराज कार्कीले कुशल नेतृत्व चयन गर्दा जात, धर्म हेरेरभन्दा पनि उसको क्षमता र लगनशीलतालाई आधार मानेर नेतृत्व प्रदान गर्नुपर्ने बताए । एउटा परिवारबाट ५–६ वटा सहकारी संस्थामा सदस्य रहने परिपाटीलाई सहकारी ऐन बमोजिम छिटै अन्त्य हुन जरुरी रहेको सुनाए ।
सो साधारणसभामा संविधान सदस्य प्रेम गिरीले केही समय अघिसम्म पैसाका लागि श्रीमानसँग भरपर्ने महिलाहरु आज बचतको माध्यमबाट आफूलाई सक्षम बनाउँदै गएको बताए ।अब त्यतिमात्र नभएर दिदीबहिनीहरु आफै उद्यमी हुन जरुरी रहेको उनको सुझाव छ ।
सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले झापा जिल्लामा रहेका अन्य महिला सहकारीको तुलनामा आत्मनिर्भर सहकारी उत्कृष्ट सहकारी रहेको बताए । उनले कुनै पनि सहकारीबाट ऋण खाएर समयमा ऋण नतिर्नेहरुको खराब दिन आएकोले त्यस्तो व्यवहार गर्ने कसैलाई पनि नछोडिने चेतावनी दिए ।
साधारणसभाको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङग्रौला, बिर्तामोड नगरपालिका वडा नं ५ का वडा सदस्य डिआर कडरिया, स्वरोजगार सहकारीका अध्यक्ष केशव बस्नेत, पत्रकार रेजिना गौतमलगायतले आ–आफ्ना धारणा राखेका थिए । संस्थाका सदस्य टिका बुढाथोकीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव पुष्पा दाहालले गरेकी थिइन् ।
Comments