Sajhamanch Archive

पुष ५ देखि भद्रपुरमा वीचबलको दोस्रो संस्करण

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत अन्तर्राष्ट्रिय मानव एकता दिवसको अवसर पारेर भद्रपुरको मेची नदीको बगरमा ‘वीच भलिबल’ (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ ।

भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ को दोस्रो संस्करण हुन लागेको हो । वडा कार्यालयका अनुसार भद्रपुर नगरको चलायमान स्वरूप स्थापित गर्न नेपाल तथा भारतका खेलाडीलाई सहभागितामा खेलकुदको माध्यमबाट पर्यटन प्रबर्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।

‘५ नम्बर वडा मेची नदीको किनारै किनारले घेरेको वडा भएको जानकारी दिँदै वडाध्यक्ष बन्धु कार्कीले भने ‘विदेशमा नदीको किनारलाई उपयोग गरेर धेरै आम्दानी लिइरहेकाले रचनात्मक अभियानबाट प्रभावित भएर यस्तो खेल आयोजना गरिएको हो ।’

उनले खाली रहेको मेचीको बगरलाई उपयोग गर्न सक्ने धेरै सम्भावना भए पनि सोच अनुरूप लाभ लिन नसकिएकोले केही दिनका लागि भए पनि बगर उपयोगमा लाग्ने गरी बालुवामा खेलको आयोजना गरिएको प्रष्ट्याए ।

प्रतियोगितामा भद्रपुर नगरपालिकाका १० वटै वडाको सहभागिता रहने जनाइएको छ । सो प्रतियोगिता सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार, द्वितीयले १५ र तृतीयले ८ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *