मंसिर २७ मा कान्तिपुर नेशनल म्यूजिक अवार्ड
Published:
by .काठमाडौं । रेडियो कान्तिपुर नेशनल म्यूजिक अवार्ड यही मंसीर २७ गते काठमाडौंमा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो ।
रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा अवार्डको आयोजना गरेको जनाउँदै रेडियोका स्टेशन म्यानेजर दिनेश डिसीले भने, अवार्डले गीत सङ्गीतका स्रष्टाहरुलाई अझ हौसाला प्रदान गर्नेछ ।
अवार्ड प्रदान गरिने विधाहरुमा उत्कृष्ट नवगायक र गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् ।
त्यस्तै गीत सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएका एकजना मुर्धन्य सङ्गीत साधकलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । सो अवार्ड (पुरस्कार)को राशि एकलाख रुपैयाँ रहेको छ ।
त्यस्तै पिपल्स च्वाइस अवार्डको चयन स्रोताको सहभागितामा गरिने र अवार्ड कार्यक्रममा सङ्गीतका १५ विधा र लाइफ टाइम एचिभमेन्टसँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने स्टेशन म्यानेजर डिसीले जानकारी दिए ।
डिसीका अनुसार वर्षभर प्रसारण भएका गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट मध्ये पाँचजनाको मनोनयन छान्न वरिष्ठ गीतकार चूडामणि देवकोटा, गायिका कुन्ती मोक्तान र सङ्गीतकार सुरेश अधिकारीको जुरी निर्माण गरिएको थियो ।
Comments