Sajhamanch Archive

शिशुको मृत्युमा मनमोहन तोडफोड, पाँच लाख क्षतिपूर्तिमा कुरा मिल्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा उपचारार्थ भर्ना गरिएकी पाँच महिने शिशुको मृत्यु पछि उत्पन्न विवाद र तोडफोडको घटना सहमतिमा टुङ्गिएको छ । पीडित परिवार र अस्पताल प्रशासन बीचको बैठक पछि विवाद टुङ्गिएको हो ।

दुबै पक्षको बैठकले शिशुको नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले ५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको इलाका प्रहरी कार्यालय अनारमनी प्रशासनले जनाएको छ । सहमतिकै समयमा १ लाख रुपैयाँ नगद र बाँकी ४ लाख मंसीर मसान्तभित्र दिने सहमति भएको जनाइएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ५ का विजय लिम्वूको पाँच महिनाकी छोरी विपिषाको उपचारको क्रममा हिजो मृत्युपछि आज अस्पतालमा तनाब उत्पन्न भएको थियो । अस्पतालमा आक्रोसित पीडित परिवारले ढुङ्गा मुढासमेत गरेका थिए । डाक्टरको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै पीडितका आफन्तले अस्पतालको शिसा र बोर्ड तोडफोड गरेका हुन् ।

हिजो दिउसो १ बजे निमोनिया भइ ल्याइएको शिशुको उपचारको क्रममा साझ साढे ५ बजे मृत्यु भएको थियो । विपिषाको थप उपचारको लागि बी एण्ड सी अस्पताल रेफर गरिएको भए पनि रेफर गर्नु अगावै मनमोहन अस्पताल मै शिशुको मृत्यु भएको पीडितले बताएका छन् ।

शिशुको शब अझै बी एण्ड सी अस्पतालमा रहेको बताइएको छ ।

विवादपछि इलाका प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सहमति जुटाएको हो । सो सहमतिमा अस्पतालका तर्फबाट रोमणी भट्टराई र पीडित परिवारको तर्फबाट विजय लिम्बुले हस्ताक्षर गरेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *