कवि शिरोमणि पूर्व विद्यार्थी समाजको गठन
Published:
by .मेचीनगर । कवि शिरोमणि माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीहरुको शनिबार विद्यालयमा भएको भेलाले समाज गठन गरेको हो ।
शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ अनुसार गठन गरिएको समाजको अध्यक्षमा सुब्रत न्यौपाने चयन भएका छन् । अध्यक्ष छानिएका न्यौपाने विवेचना दैनिकका सम्पादक एवम् एपीवान टेलिभिजनका व्युरो प्रमुख हुन् ।
विद्यालयको शैक्षिक गुणस्तर बढाउने प्रदेश सरकारको अवधारणा अनुसार पूर्व विद्यार्थीलाई सङ्गठित गर्न थालिएको हो । विद्यार्थी भेलाले समाजको उपाध्यक्षमा ईश्वर घिमिरे र मञ्जु चिमरियालाई छानेको छ । उनीहरु दुबैजना शिक्षण पेशामा छन् ।
यसैगरी, सचिवमा राजु धिमाल चयन भएका छन् । उनी राजनीतिक दलको भातृ संगठन युवा सङ्घमा क्रियाशील छन् । स्थानीय खुट्टीडाँगी सामुदायिक वन समूहमा पनि धिमालको जिम्मेवारी छ । सहसचिवमा आशिष पौडेल चयन भएका छन् ।
समाजको कोषाध्यक्षमा झुलन रेग्मी चयन भएका छन् । रेग्मी लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक हुन् । विद्यालयका शिक्षक दिवस भण्डारीका अनुसार समाजको सदस्यमा कुन्दन भट्टराई, पवित्रा आचार्य, भीम किसान, झरना दाहाल र प्रवीन पौडेल चयन भएका छन् ।
प्रदेश सरकारको योजना अनुसार सरकारी विद्यालयमा पूर्व विद्यार्थी समाज गठनको प्रक्रिया तीब्र गतिमा अघि बढिरहेको छ । ‘विद्यालयले पूर्व विद्यार्थीहरुको योगदान चाहेको छ’ नवगठित समितिलाई शुभकामना दिँदै कवि शिरोमणि माविका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले भने, ‘उनीहरुको योगदान विद्यालयले बिर्सन सक्दैन ।’
विद्यालय तहमा पूर्व विद्यार्थीलाई सक्रिय बनाउने प्रदेश सरकारको योजना अनुसार समाजको गठन भएको भन्दै प्रअ अधिकारीले यसका लागि सबै पूर्व विद्यार्थीबाट रचनात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गरे । समाजलाई शुभकामना दिँदै सहायक प्रधानाध्यापक लोहितप्रसाद चापागाईले पूर्व विद्यार्थीबाट विद्यालयलाई रचनात्मक सहयोग प्राप्त हुने भन्दै उत्कृष्ट समिति बनेको बताए ।
‘विद्यालयप्रतिको मायाले धेरै पूर्व विद्यार्थीबाट सहयोग पनि मिलिरहेको छ’ सप्रअ चापागाईले भने, ‘समाजको गठनपछि अझै सहयोग प्राप्त हुनेछ भन्ने आशा गरेका छौँ ।’ पूर्व विद्यार्थी कञ्चन तामाङ्को अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
Comments