Sajhamanch Archive

कमल गाउँपालिका वडा नं. ३ आफ्नै भवनमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

कमल । झापाको केर्खामा आज कमल गाउँपालिका वडा नम्बर ३ को नयाँ कार्यालय भवनको उद्घाटन गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष सेलिना राईले नवनिर्मित भवनको साँचो गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई हस्तान्तरण गरेर यसको उद्घाटन गरिएको हो ।

तीन तलाको ९ कोठे सो भवन निर्माणमा गाउँपालिकाको १२ लाख र प्रदेश सरकारको २५ लाख गरी ३७ लाख रुपैयाँ खर्च भएको छ । भवनको भुइँतलामा आधारभूत स्वास्थ्य केन्द्र, ज्येष्ठ नागरिकको कार्यालयसहित खोपकेन्द्र रहने छ । यस्तै, दोस्रो तलामा वडा कार्यलय र तेश्रो तलामा प्रमुख प्रशासकीय अधिकृतको निवास बनाइने वडा नम्बर ३ का अध्यक्ष नरप्रसाद दंगालले बताएका छन् ।

वडा कार्यालयको उद्घाटन पछि बोल्दै अध्यक्ष काफ्लेले गाउँपालिकाले सबै वडामा आफ्नै भवन निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रम बनाएको बताइन् । उनले वडा कार्यालयहरु जस्तै गाउँपालिकाको प्रवेशद्वार केर्खा बजारलाई समेत सुन्दर बनाउनका लागि प्रदेश सरकारसँग बजेट मागिएकाले छिट्टै डिपिआर बनाएर काम सुरुगर्ने आश्वासन दिइन् ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले कर्मचारीलाई गाडीको इन्जिनसँग तुलना गर्दै चालकका रुपमा रहेका स्थानीय बासिन्दाले चालकलाई सही दिशातर्फ सवारी दौडाउन सकेमा विकासले फड्को मार्ने बताए ।

कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, नेकपाका गाउँपालिका अध्यक्ष भिमप्रसाद राई, मनबहादु थलुङ्ग लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन भवन निर्माण समितिका सचिव विरेन्द्र अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *