‘सहकारी नै नबुझेका औंठा छापले नेपालमा ऐन र नियम बनाउँछन् !’
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडलाई केन्द्र बनाएर जिल्लाभर कार्यक्षेत्र रहेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षता तथा संस्थापक अध्यक्ष दिनेश मल्लको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो ।
साधारणसभाको उद्घाटन सत्रमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ३८ जनाले २०५३ सालमा ३८ लाख रुपैयाँ शेयर संकलन गरेर स्थापना गरेको आफ्नो संस्थाले गत असार मसान्तसम्ममा तीन करोड ३१ लाख ७१ हजार २०० रुपैयाँ पुर्याएको अध्यक्ष बस्नेतले सुनाए ।
यसरी नै सो मितिमा संस्थासँग २७ करोड दुई लाख ९५ हजार रुपैयाँ निक्षेप जम्मा भएको र २६ करोड ९७ लाख ५७ हजार रुपैयाँ सदस्यमाझ कर्जा लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा संस्थाले चार करोड ३२ लाख ९४ हजार आम्दानी गरी तीन करोड चार लाख २१ हजार खर्च गरेर एक करोड २८ लाख ७३ हजार खुद नाफा गरेको अध्यक्ष बस्नेतले साधारणसभामा सुनाए । संस्थाले गत आर्थिक वर्षमा राज्यलाई छ लाख १३ हजार आयकर बुझाएको थियो ।
सो अवसरमा मन्तब्य राख्दै संस्थाका पूर्व अध्यक्ष रुपक खनालले लक्ष्मी बहुउद्देश्यीय सहकारी जन्मनुको भित्री रहस्य सुनाए । उनका अनुसार जतिबेला नेपाल बैंकको बिर्तामोड शाखामा आम मानिसले बैंकिङ कारोबार गर्न सक्ने अवस्था थिएन, त्यतिबेलाको आवश्यकतालाई सम्बोधन गर्न लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था खोलिएको थियो ।
संस्थामा सहकारीका अन्तर्राष्ट्रिय सात सिद्धान्तहरुको पूर्णरुपमा अवलम्वन भइरहेको जनाउँदै पूर्व अध्यक्ष खनालले प्रजातान्त्रिक नियन्त्रण प्रणालीलाई आत्मसाथ गर्दै नेतृत्व हस्तान्तरण हुने गरेको बताए ।
संस्थाको २३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा आमन्त्रितहरुलाई स्वागत गर्दै उपाध्यक्ष गणेशकुमार शाक्यले आफ्नो संस्थाभन्दा पछि स्थापित सहकारीहरुले वित्तीय क्षेत्रमा फड्को मारे तापनि कम जोखिममा लक्ष्मी बहुउद्देश्यीयले निरन्तर प्रगति गरिरहेको बताए ।
साधारणसभाको उद्घाटनका अवसरमा संस्थाका कर्मचारीहरु मञ्जिल घिमिरे र रुवीकुमारी महतोलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कृत गरियो । यस्तै सदस्यका छोराछोरीमध्ये गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सुवासना खड्का र दर्पण पोखरेललाई जनही ५ हजार १०० रुपैयाँले पुरस्कृत गरियो ।
यसरी नै संस्थामा बचत तथा कर्जा कारोबारमा उत्कृष्ट ठहरिएका ९ जना बचतकर्ता र ५ जना कर्जा कारोबारीलाई नगद २ हजार १०० रुपैयाँले पुरस्कृत गरिएको छ ।
साधारणसभाका प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष दिनेश मल्लले सहकारी नै नबुझेका मान्छे (औंठा छाप) सांसदहरुले सहकारी ऐन र नीति बनाउने गरेको आरोप लगाए । उनले सहकारीको मर्म र भावना बुझेका मान्छेले ऐन र नीति बनाउने हो अनि त्यसलाई अक्षरशः पालना गराउने निकाय भए नेपाल निक्कै माथि पुग्ने दावी गरे ।
संस्थापक अध्यक्ष मल्लले सहकारी संस्था दर्ता गर्न पुग्ने जो कोहीलाई सहकारी शिक्षा नै नदिई डिभिजन कार्यालयले धमाधम दर्ता गरिदिएकाले आज देश सहकारीको जंगल बन्न पुगेको टिप्पणी पनि गरे ।
सो अवसरमा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले अन्य संस्था र लक्ष्मी बहुउद्देश्यीयको फरक केलाउँदै भने, ‘यति ठूलो वित्तीय कारोबार गर्दा पनि संस्थाले कसैबाट ऋण नलिई सदस्यहरुबाटै निक्षेप संकलन गरेर सदस्यको वित्तीय आवश्यकता पूरा गर्न सक्नु फरक विशेषता र सफलता हो ।’
संस्थाको पल्स एनालाइसिस पनि ठीक रहेको तथा थोरै कर्मचारीबाट सेवा प्रवाह गरेर सदस्यहरुलाई लाभ पुर्याएकोमा सहकारी अधिकृत दाहालले धन्यवाद पनि दिए । उनले संस्थामा कतिपय वित्तीय कमी कमजोरीहरु रहेको प्रतिवेदनमा नै उल्लेख गरेको पाइएकाले त्यसलाई आजकै साधारणसभाबाट संशोधन गर्न सुझाव पनि दिएका छन् ।
संस्थाका पूर्व सचिव टिका घिमिरेले सञ्चालन गरेको साधारणसभाको उद्घाटन समारोहमा कर्णाली साकोसका अध्यक्ष टिएस प्रधान, संस्थाका पूर्व सचिव युवराज दाहाल, व्यवसायी बलराम कार्की, सप्तकोशी बैंकका बिर्तामोड शाखा प्रमुख जीवन बुढाथोकी लगायतले मन्तब्य राखेका थिए ।
Comments