बिर्तामोडमा एनएमसीको सदस्य शिक्षा कार्यक्रम
Published:
by .बिर्तामोड । एनएमसी झापाले आफ्नो वार्षिक कार्यतालिका अनुसार जिल्लाका विभिन्न स्थानमा सदस्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
वर्षमा करिब ३०० वटा तालिमको क्यालेण्डर बनाएर इकाइस्तरमा सहकारी शिक्षा एवम् स्वास्थ्य जीवनशैलीका बारेमा सचेतना प्रदान गरिँदै आएको हो । सोही क्रममा आज बिर्तामोड कार्यालय अन्तरगत इकाई नं. ७ र ८ मा संयुक्त सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
इकाई संयोजक पर्शुराम मगरले सदस्य शिक्षा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेपछि सुरु भएको तालिममा बिर्तामोड कार्यालयका अपरेशन इन्चार्ज राकेश हरिजनले संस्थाको वित्तीय झलक प्रस्तुत गरेका थिए ।
सदस्य शिक्षा तालिममा बिर्तामोड कार्यालयगत समितिका सदस्य गोपाल काफ्लेले सहकारी र एनएमसी तथा स्वास्थ्य जीवनशैलीका लागि खानपान विषयमा सहजीकरण गरेका थिए । दुई घण्टाभन्दा लामो सदस्य शिक्षा कार्यक्रममा सहभागी सदस्यहरुले संस्थाका बारेमा थुप्रै जिज्ञासा राखेका थिए ।
सो कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १ का अध्यक्ष अग्नि पाण्डेले सहकारीकै माध्यमबाट कृषि व्यवसाय गर्दा इजरायल विश्वकै अग्रणी मुलुक बनेको जानकारी गराए । सहकारीहरुले महिलालाई उद्यमशील बनाउने तालिम प्रदान गरेमा वडा कार्यालयको तर्फबाट विऊ पूँजी उपलब्ध गराएर कृषिकर्ममा लगाउन सकिने सो अवसरमा वडाध्यक्ष पाण्डेले आश्वासन पनि दिएका छन् ।
तालिममा संस्थाका सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले एनएमसीले नेपालकै उत्कृष्ट सहकारी बन्नका लागि के कस्ता कामहरु गरिरहेको छ भन्ने अवगत गराउँँदै सहकारीमा सदस्य बनेर काम गर्दा बैंकको भन्दा बढी लाभ पाइने विश्वास दिलाए ।
कार्यक्रमको सञ्चालन बिर्तामोड कार्यालयका पवन खतिवडाले गरेका थिए ।
Comments