दमकमा सहकारीको बेथिति, सर्वसाधारणको करोडौ बचत जोखिममा
Published:
by .दमक । झापाको दमकमा नगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थाहरुले नगरपालिकालाई अटेर गरेकामात्र छैनन्, निक्षेपकर्ताको करोडौं बटुलेर भाग्न पनि थालेका छन् ।
दमकमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय लगायतका विभिन्न प्रकारका ७५ वटा भन्दा बढी सहकारी संस्थाहरु छन् । संघीय, प्रदेश र स्थानीय सरकारले बनाएका सहकारी ऐन, नियम तथा कानूनको ती मध्ये कतिपय संस्थाहरुले पालना नगरेको पाइएको हो ।
नियमित रुपमा सञ्चालन हुँदै आएका संस्थाहरुले हरेक आर्थिक बर्षको ६ महिना भित्र अनिवार्य रुपमा वार्षिक साधारणसभा गरी साधारणसभाको निर्णय पुस्तिकाको प्रतिलिपी र प्रतिवेदन सम्बन्धित स्थानीय सरकार समक्ष बुझाउनु पर्ने व्यवस्था छ । स्थानीय तहको सहकारी शाखामा लेखा परीक्षण प्रतिवेदन, मासिकरुपमा वित्तीय कारोबारको विवरण, चुनावी साधारणसभा भए निर्वाचित समितिको नामावली पेश गर्नुपर्ने लगायतका व्यवस्था भए पनि दमकमा सञ्चालित सहकारीले यसको पूर्ण पालना गरेका छैनन् ।
नगरको नियमन तथा रेखदेखको क्षेत्राधिकार भित्र रहेका ९० बढी सहकारीमध्ये चालू आर्थिक वर्षमा हालसम्म १६ वटाले मात्रै त्यस्तो विवरण बुझाउने गरेका नगरपालिकाका सहकारी प्रमुख इच्छाराम चौलागाइँले बताए । स्थानीय सरकार सञ्चालनमा आएको अढाई बर्ष वितेपनि सहकारी संस्थाहरुले स्थानीय सरकारलाई अटेर गरिरहेका छन् भने स्थानीय सरकार र सरकारका अधिकारीहरुले पनि सहकारी माथि एक्सन लिन सकेका छैनन् ।
‘एक्सन नलिनुमा स्थानीय तह पनि उत्तिकै जिम्मेवार देखिन्छ’ एक सहकारी अभियन्ता भन्छन्, ‘स्थानीय सरकारले डिभिजन कार्यालयबाट फाइल हातमा लिए पछि सहकारीको नियमन, नियन्त्रण र प्रवद्र्धनका लागि केही गरेकै छैन । अनि डण्डा बर्साउँछु भन्न चाहिँ पाइन्न ।’
नारायणी र स्वर्गपुरी सहकारीका पीडितहरु न्याय खोज्दै
पर्याप्त नियमन र अनुगमनको अभावमा दमकमा सञ्चालित सहकारी संस्थाहरुले बचत कर्ताहरुको रकम ठगी गर्ने क्रम बढ्दो छ । पछिल्लो समय दुईवटा सहकारी संस्थाहरुले बचत फिर्ता नगरेको समाचार बाहिर आइसकेको छ । आधा दर्जन सहकारीहरु बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा गुज्रिरहेको स्रोत बताउँछ ।
सञ्चालक समितिका अध्यक्षसहित पदाधिकारीहरुले नै संस्थाबाट ठूलो रकम ऋण लिएपछि कतिपय सहकारीका बचतकर्ताहरुले आफ्नो बचत रकम फिर्ता पाउन नसक्ने अवस्था आएको जानकारहरुको भनाई छ ।
नारायणी बचत तथा ऋण सहकारी संस्थाले दमक ६ स्थित घिमिरे मार्केट नजिकैको एक घरमा कार्यालयको बोर्डसमेत नराखी कार्यालय सञ्चालन गरी आएको र सो संस्थामा बचत गरेका बचतकर्ताहरुको लाखौं रुपैयाँ निक्षेप फिर्ता नगरेको भन्दै पीडितहरु हार गुहार मागिरहेका छन् ।
सो सहकारीमा आफ्नो, आफ्नी श्रीमती र छोराछोरीका नाममा समेत करिब १३ लाख रुपैयाँ बचत गरेर त्रैमासिक रुपमा ब्याज रकम बुझ्दै आएका दमक ८ का टिका भट्टराईले पछिल्ला केही दिनयता बचत रकम फिर्ता लिन खोजे पनि नपाएको दावी गरेका छन् ।
बचत रकम फिर्ता दिलाउने निकाय कुन हो र कसरी फिर्ता लिन सकिन्छ भन्ने बारेमा आफूलाई जानकारी नहुँदा दिनहुँ कार्यालयसम्म आउने, नगरपालिकाको सहकारी फाँटमा पुग्ने र गुनासो राख्ने बाहेक केही गर्न नसकेको उनको भनाई छ ।
सोही सहकारीमा आफ्ना छोराछोरीले कमाएर पठाएको १२ लाख रुपैयाँ बचत गरेको बताउने कोहबरा बालुवथान स्थायी घर भएकी सरस्वती घिमिरेले १६ प्रतिशत ब्याज पाउने आशामा राखेको बचत रकम फिर्ता पाउन नसकेको गुनासो गरिन् ।
संस्थाबाट २ लाख रुपैयाँ हाराहारीमा बचत गरेर ब्याज खाँँदै आएका अर्का बचतकर्ता नन्दलाल आचार्यले पनि संस्थामा गरेको बचत रकम फिर्ता पाउन नसकेको गुनासो गरिरहेका छन् ।
नारायणी साकोसका १५ जना पीडित बचतकर्ताहरुले दमक नगरपालिकाको सहकारी शाखामा गएर आफ्नो समस्या सहकारी शाखाका प्रमुख इच्छाराम चौलागाईंसँग राखेपछि उनले पनि नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर समस्या राख्न सुझाएका छन् । तर पीडितहरुले न नगरप्रमुख रोमनाथ ओलीलाई भेट्ना पाए न त प्रमुख प्रशासकीय अधिकृतले नै भेट दिए !
नारायणी सहकारीको सञ्चालक समितिका अध्यक्षसहित बहुमत पदाधिकारीहरुलाई बचत कर्ताहरुले भेट्न सकेका छैनन भने दुई जनासँग भेट भए पनि आफूहरुले मात्रै सो रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ पाएको बताएका छन् ।
सञ्चारकर्मीहरु सो संस्थामा पुग्दा कार्यालय भित्र निक्षेप फिर्ता माग्न आउनेहरु मात्रै थिए । कार्यालय खुल्ला रहेपनि कार्यालयका व्यवस्थापक भुपालमान कार्की कार्यालयमा भेटिएनन् । बचत कर्ताहरुले व्यवस्थापक कार्कीसँग भेट भए पनि गैह्र जिम्मेवारपूर्ण जवाफ दिने, अल्मलाउने प्रयासमात्रै गर्ने गरेको आरोप लगाएका छन् ।
त्यसैगरी दमकको शंखधरचोक नजिकै घर भाडामा लिएर करिब १८ महिनादेखि सञ्चालनमा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाले बचत गरेका बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेपछि कार्यालय नै बन्द भएको छ ।
सो सहकारी सञ्चालनमा आएयता बचत गरेका सर्वसाधारणले आफ्नो निक्षेप फिर्ता पाउन नसकेपछि अहिले हारगुहार गरिरहेका छन् । सो सहकारीका सञ्चालक समिति अध्यक्ष धिरज बुढाथोकीको निधन भइसकेको र व्यवस्थापकले मनोमानी रुपमा सहकारी सञ्चालन गरिआएको एकपक्षको आरोप छ ।
गौरीगञ्ज घर बताउने राजवंशी थरका ती व्यवस्थापकको आधिकारिक परिचय थाहा हुन सकेको छैन । तर ३–४ दिनयता सो सहकारीमा दिनहुँ बचत फिर्ता लिने बचतकर्ताहरु जाने गरेका र कार्यालय बन्द रहेको भेट्ने गरेका छन् ।
आफूहरुले यसअघि सहकारीका कलेक्टर चिनजानका भएका कारण बचत गर्ने गरेको, बचत रकम फिर्ता माग्दै पसल मै ल्याइदिने गरेकाले विश्वासमा परेर सहकारीका व्यवस्थापक, सञ्चालक कसैसँग सम्पर्क नगरी बचत गर्ने गरेकोमा तीन– चार दिनदेखि कार्यालय नै नखुलेपछि आश्चर्यमा परेको बचतकर्ताहरुको भनाई छ ।
जिल्ला सहकारी संघका लेखा समिति सदस्य चूडामणि ओझा पछिल्लो समय दमकको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेका बचतकर्ताहरुको करिब एक करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको अवस्थामा कार्यालय बन्द रहेको पाइएको बताउँछन् । तर कोही पनि पीडितहरु बचत फिर्ता पाउँ भन्दै कुनै पनि सरकारी तथा सहकारीका संघ संस्थाहरुमा नपुगेको ओझाले बताएका छन् ।
दमक नगरपालिकाको सहकारी विभागका प्रमुख इच्छाराम चौलागाइँले स्वर्गपुरी बचत तथा ऋण सहकारी दमकमा सञ्चालित भएपनि त्यसको नियमन, अनुगमन गर्ने जिम्मेवारी दमक नगरपालिकाको नपर्ने तर्क गर्छन् ।
सो सहकारीको दमक बाहिर पनि कार्यक्षेत्र भएकोले त्यसको नियमन प्रदेशबाट हुने भन्दै दमक नगरपालिका कोही बचत कर्ताहरुको बचत फिर्ता गराउने, ऋण असुल गरिदिने निकाय नभएको र पीडितहरु सम्बन्धित निकायमा जानुपर्ने तर्क गर्छन् ।
प्रदेश सरकारले सो बिषयमा अनुगमन तथा नियमन गर्न स्थानीय सरकारलाई समेत सहभागी गराएको अवस्थामा मात्रै दमक नगरपालिकाले सहभागिता जनाउने चौलागाईं बताउँछन् ।
Comments