Sajhamanch Archive

‘ज्येष्ठ नागरिकलाई घरबाटै खुशी प्रदान गरौं’ : उपसभामुख डा. तुम्बाहाम्फे

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

बुद्धशान्ति । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ज्येष्ठ नागरिकको हकहित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागिपरेको बताएकी छन् । ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी बुद्धशान्ति– १ झापाले शुक्रबारबाट सुरु गरेको ब्रम्हाण्ड महापुराणको उद्घाटन तथा ज्येष्ठ नागरिक स्तम्भ अनावरण गर्न झापा आएकी उपसभामुख डा. तुम्बाहाम्फेले यस्तो बताएकी हुन् ।

ज्येष्ठ नागरिकको हक अधिकारलाई समेटेर विधेयक ल्याउने तयारीमा सरकार रहेको जानकारी गराउँदै उपसभामुख डा. तुम्बाहाम्फेले ज्येष्ठ नागरिकको हक अधिकार संविधान, ऐन, नियममा उल्लेख भएपनि उहाँहरुलाई खुसी दिने पहिलो ठाउँ घर भएको बताइन् । सबै घरका ज्येष्ठ नागरिकको खुसीका लागि छोराछोरीको सबैभन्दा ठूलो कर्तव्य र भूमिका हुने भएकाले सोही अनुरुपको व्यवहार हुनुपर्ने उनको आग्रह छ ।

नेपालको संविधानमा नै ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको जानकारी गराउँदै त्यसलाई थप व्यवस्थित बनाउन ऐन, नियम निर्माण तथा परिमार्जन भईरहेको डा. तुम्बाहाम्फेको भनाई छ । उपसभामुख डा. तुम्बाहाम्फेले कतिपय घर परिवारमा ज्येष्ठ नागरिकले दुख पाइरहेको जानकारी पाउँदा आफ्नो मन दुखेर आउने बताउँदै अहिले आफूले गर्ने व्यवहार पछि आफूलाई छोराछोरीले गर्ने हुँदा ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने सुझाव पनि दिइन् ।

ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्ने संघ–संस्थाले ज्येष्ठ नागरिकका ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नेगरीका कार्यक्रम तय गरेर सोही अनुरुप चल्न उपसभामुखको सुझाव छ । उनले ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीलाई आप्mनो तर्फबाट सहयोगको प्रतिवद्धता पनि व्यक्त गरिन् । उनले प्रत्येक शनिबार चौतारीमा भेला हुने ज्येष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्ने आश्वासन पनि दिइन् ।

सो कार्यक्रममा शंकराचार्य साङ्गवेद गुरुकूल साधुटारका संस्थापक पण्डित केदारनाथ खतिवडा, झापा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, ज्येष्ठ नागरिक संघ झापाका उपाध्यक्ष हरि ओलीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहारा नेपाललाई संस्थागत सम्मान र सामाजिक व्यक्तित्व महाविर अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

पुराण आयोजक मूल समितिका संयोजक रामप्रसाद रिजालको सभापतित्वमा भएको कार्यक्रममा नन्दकुमार तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए । बुद्धशान्ति वडा नम्बर १, ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी, स्थानीयको सकृयतामा ज्येष्ठ नागरिक स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माण समितिका अध्यक्ष विभिषण वाग्लेले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *