“जीवनयात्रा” लोकार्पणसँगै परिचर्चा
Published: (Updated: )
by .काठमाडौं । लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय तथा भूगर्भविद अरूणकुमार सुवेदीको आत्मकथा “जीवनयात्रा” सार्वजनिक गरिएको छ ।
भू–गर्भ शास्त्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टङ्क पन्त, पत्रकारद्वय गुणराज लुइँटेल र तीर्थ कोइराला तथा पूर्वान्चल विश्वविद्यालयका पूर्व उपकुलपति जगतबहादुर क्षेत्रीले सो पुस्तकको संयुक्त रूपमा लोकार्पण गरिदिएका हुन् ।
किताबमा उठान गरिएको विषयबारे परिचर्चा गर्दै भू–गर्भ शास्त्रका प्राध्यापक तारानिधि भट्टराईले पुस्तक पढ्न थालेपछि छोड्न मन नलाग्ने सुनाए । ‘यो पुस्तक मात्र होइन, आगाको फिलिङ्गो हो । उहाँको व्यक्तित्व, ओज र सोचका आधारमा नेपालमा यत्तिको होनहार मान्छे पनि छ र भन्ने प्रश्न चिह्न खडा हुन्छ ।’ भनी टिप्पणी गरे ।
‘लेखक सुवेदी बहुआयामिक व्यक्तित्वको धनी हुनुहुँदो रहेछ भन्ने पुस्तककले खुलासा गरेको छ’ प्राध्यापक भट्टराईले भनेका छन् । पुस्तकमा खानीको बारेमा आधारभूत जानकारी मात्रै नभएर नेपालमा कहाँकहाँ कस्ता कस्ता खानी छन् र हामी कति धनी छौँ भन्ने व्याख्या गरिएको उनले सुनाए ।
कार्यक्रमका अर्का वक्ता पत्रकार गुणराज लुइँटेलले सो किताबलाई तथ्यगत रूपमा हेर्दा आधिकारिक दस्तावेजजस्तो लाग्ने बताएका छन् । अन्यथा यी कुराहरू केवल उहाँका व्यक्तिगत अनुभवका रूपमा मात्र सीमित हुन्थे ।
यहाँ माझ किरातको एउटा सभ्यताको नालिबेलीसमेत आएको छ । सँगसँगै वन्यजन्तु संरक्षणमा पनि मान्छेलाई सचेत गराएका छन् । भूत, झाँक्रीजस्ता हाम्रा पुराना सभ्यता र संस्कृतिका कुरा पनि नयाँ र अनुसन्धेय ढङ्गले आएका छन् ।
हामीले बिर्सिसकेका ग्रामीण शब्द र प्रथाहरूका बारेमा पनि पाठकले नयाँ संवाद अनुभव गर्न सक्छन् । यसर्थ यो किताब माझ किरातमा बस्ने मान्छेहरूको साझा कथा हो । सुरूमा लेखक कम्युनिष्ट गतिविधिमा समेत संलग्न रहेको तथा नाटककार तथा लेखक अभि सुवेदी तथा भाषाविद् बल्लभमणि दाहालसँगका प्रसङ्ग पनि किताबको गहना भएर आएको पत्रकार लुईंटेलले टिप्पणी गरेका छन् ।
किताबबारे पत्रकार तीर्थ कोइरालाले भने, ठाउँ विशेषले जाति निर्धारण हुन्छ भन्ने देखाउँछ । यस किताबमा अरुणकुमार लिम्बू सुवेदीको व्यक्तित्व निर्माण भएको छ । सुवेदीको व्यक्तित्व हेर्दा केही समयपछि जन्मिएका भए देश परिवर्तनका लागि गतिलो आधार बन्न सक्थे । किताबमा उनी सिनेमाका नायक जस्ता लाग्छन् ।
यस किताबमा तीथि मितिमा ख्याल गरिएको छैन, ठाडो भाषा छ । यस्ता सामान्य कमजोरी बाहेक किताबले देशको आत्माको खोजी गरेको छ । राजादेखि विषयविज्ञ र विद्वानसम्मको सरसङ्गत गरेका सुवेदीले जहाँ पनि आफ्नो हक्की स्वभावको परिचय दिएका छन् ।
उनले पूर्व लिम्बूवानको हिरादेखि दार्चुलासम्मको हिराको खोजी गरिएको छ । खानी र भू–गर्भका दृष्टिले देशको समृद्धिको ढोका खोलेको छ ।
किताबमाथि प्रकाश पार्दै पूर्वान्चल विश्वविद्यालयका पूर्व उपकुलपति जगतबहादुर क्षेत्रीले भने, मलाई त किताब पढेपछि अरूण अजिङ्गरजस्तै लाग्यो । उनको व्यक्तित्व खोलोजस्तै ओह्रालो बगिरहने खालको रहेछ भन्ने किताबमा स्पष्ट ढङ्गले आएको छ ।
अरुणले जीवनमा कठोरभन्दा कठोर निर्णय पनि गरेको देखिन्छ । साहसले मान्छेलाई अगाडि बढाउँछ भन्ने प्रेरणा नै किताबको मुख्य सन्देश हो ।
पत्रकार टंक पन्तले नयाँ पुस्तालाई एउटा नयाँ खोज र अनुसन्धानको लागि पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
पुस्तकका लेखक अरुणकुमार सुवेदीले आफ्नो किताब राष्ट्रको लागि सुम्पेको बताउँदै भने किताबाट मैले जिज्ञासा जगाई दिने हो, अबको नयाँ पिंडीले पुस्तक मै आधार रहेर नयाँ खोज गर्न सक्नेछ ।
Comments