‘विपन्न समुदायलाई आर्थिक उन्नतिमा लैजान सहकारी महत्वपूर्ण साधन’ : नगरप्रमुख आचार्य
Published: (Updated: )
by .मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था मेचीनगर १३ चारआलीले हरेक वर्ष सदस्यको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै सामाजिक क्रियाकलापमा पनि तदारुकता देखाउँदै आएको छ । संस्थाको आज धाइजनमा सम्पन्न १२औं वार्षिक साधारणसभामा अध्यक्ष लेखनाथ पौडेल (केशव)ले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा क्रमशः सामाजिक काममा पाइला चाल्ने उल्लेख छ ।
२०६४ सालमा ६४ जनाले ५ हजार रुपैयाँका दरले रकम संकलन गरी तीन लाख २० हजार कूल सेयर पूँजीबाट सुरु गरिएको तारापुञ्जको शेयर गत असार मसान्तमा ६४ लाख ९८ हजार ९०० रुपैयाँ पुर्याइको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले असार मसान्तसम्म ४ करोड ४६ लाख ८ हजार ७७४ रुपैयाँ निक्षेप संकलन गरेको तथा ३ करोड ९३ लाख ५६८ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले गत आर्थिक वर्षमा १२ लाख ३० हजार रुपैयाँ खुद सञ्चालन मुनाफा गरेको जनाइएको छ ।
संस्थाका अध्यक्ष पौडेलले आफ्नो मन्तब्यमा सामाजिक संघ–संस्था चलाउन पैसाको जति अभाव र संकट पर्छ सोभन्दा बढी वित्तीय संस्था चलाउन कठिन हुने अनुभव पाएको बताए । उनले भने ‘राम्ररी वित्तीय विश्लेषण गर्न सकिएन भने संस्था टाट पल्टने खतरा हुँदोरहेछ । त्यसैले हामीले भिजन २०८० बनाएर कार्यान्वयन गर्यौं, सदस्यहरुलाई मोटिभेसन गरायौं र मात्र आजको सफलता हात पार्न सफल भएका हौं ।’
साधारणसभाको उद्घाटन सत्रमा लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुन खनालले संस्थाको वित्तीय कारोबारको पारदर्शिता एवम् सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गरे ।
१२औं साधारणसभाका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले सहकारी संस्थाले आर्थिक रुपमा कमजोर नागरिकका लागि सामाजिक सेवा कार्यमा विशेष ध्यान दिन आग्रह गरे । उनले भने, ‘नेपालका विपन्न समुदायलाई आर्थिक उन्नतिमा लैजान सहकारी महत्वपूर्ण साधन बनेको छ, हाम्रो नगरक्षेत्रका सहकारीहरुले पनि सामाजिक सेवाभावले काम गरेर नगरबासीका घाउमा मल्हम पट्टी गर्न सहयोग गर्नुहुनेछ ।’
नगरप्रमुख आचार्यले आम नागरिकको पैसा संकलन गरेर परिचालन गर्ने संस्था भएकाले पनि सहकारीहरुले आर्थिक अनुसाशनमा विशेष जोड दिनुपर्ने सुझाव दिए । आर्थिक रुपमा पारदर्शी हुँदामात्र सहकारी संस्थाहरु सञ्चालन गर्न सजिलो हुने नगरप्रमुख आचार्यको भनाई छ ।
कार्यक्रममा मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल, नेपाल रेडक्रस सोसाइटीका झापा शाखाका सभापति लोकराज ढकाल, तारापुञ्च सहकारी संस्थाका संस्थापक अध्यक्ष लीलाप्रसाद भण्डारी, साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले र रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले आफ्ना भनाइ राखेका थिए ।
साधारणसभाको अवसरमा संस्थाले विभिन्न विधाका १० जनालाई सम्मान र पुरस्कृत गरेको छ । संस्थाले पहिलोपटक सामाजिक अभियन्ताका रुपमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई र सहकारी क्षेत्रमा क्रियाशील पत्रकारका रुपमा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेलाई नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।
साधारणसभाका प्रमुख अतिथि आचार्य, संस्थाका अध्यक्ष पौडेल, वडाध्यक्ष सिग्देलसहितले दोसल्ला ओडाएर दुवैजनालाई सम्मान प्रदान गरेका हुन् ।
यसैगरी संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा इन्दिरा भण्डारीलाई सम्मान गरेको छ भने उत्कृष्ट बचतकर्ताका रुपमा सञ्जु रिजाल र साबित्रा राजबंशी सम्मानित भए । यस्तै, उत्कृष्ट ऋणीका रुपमा रुपेश लिम्बु र रमामाया तामाङ्ग, उत्कृष्ट उद्यमशील महिलाका रुपमा शशिकला लिम्बु, उत्कृष्ट बाल बचतकर्ता आयुस भट्टराई र संस्थापक सदस्य सम्मानबाट कमल कोइराला सम्मानित भएका छन् ।
संस्थाका उपाध्यक्ष मुक्तिनाथ प्याकुरेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र बिलाश लुइटेलले गरेका थिए ।
Comments