Sajhamanch Archive

सुरुङ्गामा सहाराको नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

Published: (Updated: ) in समाज, सहकारी, स्वास्थ्य by .

कनकाई । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था र कनकाई नगरपालिकाको संयक्त आयोजनामा नसा (न्यूरो) सम्बन्धी निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।

कनकाई नगरपालिकाको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न शिविरमा बीएण्डसी मेडिकल कलेज बिर्तामोड, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौ र फेमिली हेल्थ नेपालको प्राविधिक सहयोगमा रहेको थियो ।

शिविरको उद्घाटन प्रदेश नं. १ का प्रदेशसभा सदस्य हिरा थापाले गरेका थिए । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा कनकाई नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी एवम् स्थानीयको बाक्लो उपस्थिति थियो ।

निशुल्क स्वास्थ्य शिविरको औचित्य माथि सहारा नेपाल फेमेली हेल्थका संयोजक भक्तबहादुर खड्काले प्रकाश पारेका थिए । नसा सम्बन्धी रोग पहिचान गर्न नसकेर गाउँका सैयौं व्यक्ति अझै पनि खर्च अभावमा उपचार नगराई बस्ने गरेको खड्काले बताए । नसाको समस्याले मुख बाङगिँदा देउताले बिगारेको भनी धामीझाँक्री लगाउने गरेको यथार्थलाई बुझेर स्वाथ्य सचेतना जगाउन शिविर आयोजना गरिएको उनले बताए ।

प्यारालाइसीस, नसा च्यापिएको, मुर्छा पर्ने, छारे रोग, अल्जाइमर्स र पारकिन्सन लगायतका रोगको पहिचान गरी डा. वसन्त पन्तको विशेषज्ञ टोलीद्वारा शिविरमार्फत् उपचार गरिएको थियो । सहारा नेपालको स्थानीय व्यवस्थापनमा झापाका ५ वटा स्थानमा शिवर सञ्चालन गरिने खड्काले बताए ।

प्रदेशसभा सदस्य हिरा थापाले विपन्न वर्ग र नसाका बिरामीलाई यो स्वास्थ्य शिविरले ठूलो सहयोग पुर्याउने बताए । उनले स्थानीय सरकार र सहारा नेपालको साझेदारीको प्रशंसा गरे ।

कनकाई नगरपालिकाका प्रमुख पोखरेलले सहारासँग साझेदारीका सुखद कार्यको सम्झना गर्दै जेष्ठ नागरिक सम्मान चौतारी, विपन्न आवास कार्यक्रमको स्मरण गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *