रोजगारीका लागि सहकारी भरपर्दो गन्तब्य बन्दै
Published:
by .बिर्तामोड । पछिल्लो समय रोजगारीका लागि सहकारी संघ–संस्थाहरु युवाको रोजाई र गन्तब्य बन्न थालेका छन् । केही जनशक्तिका लागि खोलिएको सहकारीका खुल्ला विज्ञापनमा सयौंको संख्यामा आवेदन पर्ने गरेको हो ।
सेवा आयोग नै बनाएर कर्मचारी भर्ना गर्ने नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा गतवर्ष विभिन्न पदका लागि खोलिएको २० जना कोटाको विज्ञापनमा १५ सयभन्दा बढीले परीक्षा दिएका थिए ।
भर्खरै झापा जिल्ला सहकारी संघले दुईजना सहायक कर्मचारीका लागि दरखास्त आव्हान गरेको विज्ञापनमा ३१ जनाले आवेदन गरेको संघका व्यवस्थापक सञ्जु देवानले बताइन् ।
व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका सहायक श्रेणीका लागि माग गरिएको कर्मचारीका लागि स्नातकोत्तर तह अध्ययनरतहरुले पनि आवेदन गरेको व्यवस्थापक देवानको भनाई छ ।
यसरी नै बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा सातौं तहका लागि १२ जना कर्मचारी माग गरिएकोमा ४५५ जनाले आवेदन गरेको अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिएका छन् ।
कक्षा १२ उत्तीर्ण गरेका सहायक द्वितिय श्रेणीका लागि कर्मचारी माग गरिएकोमा स्नातकोत्तर तह पूरा गरेका तथा अर्को सहकारी संस्थामा कार्यरतहरुले पनि आवेदन गरेको पाइएको मुख्य कार्यालयका एकाउन्टेन्ट सरोज दाहालले बताएका छन् ।
गत शुक्रबार र शनिबार दुई दिन आवेदकहरुको कम्प्युटर प्रयोगात्मक अभ्यास गराएपछि छानिएका उम्मेदवारहरुबीच आगामी पुष १२ गते लिखित परीक्षा गराइने बिर्तामोड कार्यालय प्रमुख ज्योति पराजुलीले जानकारी दिएकी छन् ।
सहकारीमा काम गर्न युवामा किन यस्तो आकर्षण भएको होला भनी हाम्रो नेपाल साकोसका अध्यक्ष दंगालसँग जिज्ञासा राख्दा उनले भने, ‘हाम्रो नेपाल साकोसमा नियुक्त भएका जुनसुकै कर्मचारीले पनि नेपाल सरकारले तोकेकोभन्दा राम्रो पारिश्रमिक पाउने तथा स्थायी प्रकृतिको सेवा भएकाले अन्य सुविधाहरु पनि दिइने गरिएकाले यस्तो आकर्षण भएको हो ।’
हाम्रो नेपाल साकोसले पनि प्रतिष्पर्धीहरुको क्षमताका आधारमा मात्र जनशक्ति छनोट गर्ने नीति बनाएकाले तीन चरणको परीक्षा पूरा गरेर छानिएकाहरुले मात्र रोजगारीको अवसर पाउने अध्यक्ष दंगालको भनाई छ ।
सँगसँगै निजी क्षेत्रभन्दा तीब्र गतिमा सहकारीले व्यवसाय वृद्धि गरिरहेकाले पनि सहकारी संघ–संस्थामा काम गर्न युवा जनशक्ति लालयित हुने गरेको अभियानकर्मीहरु बताउँछन् ।
Comments