Sajhamanch Archive

बनियानीमा आजदेखि कर्णालीको शाखा

Published: in राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by .

कचनकवल । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आजदेखि कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

प्रदेशसभा सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहका बीच संस्थाको १८औं शाखा सञ्चालनमा ल्याइएको हो । शाखा कार्यालय उद्घाटन पछि मन्तब्य राख्दै प्रदेशसभा सदस्य बानियाँले सहकारी व्यवसायको माध्यमबाट मुलुकले आर्थिक रुपमा काँचुली फेर्न सक्ने देखेर नै नयाँ संविधानमा अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरिएको बताए ।

उनले सहकारीको माध्यमबाट कृषि उपज उत्पादनदेखि उद्योगसम्म सञ्चालन गर्नसक्ने अवसर रहेको बताउँदै हरेक स्थानीय सरकार र प्रदेश सरकारले समेत सहकारी ऐन निर्माण गरी सहकारीको माध्यमबाट आर्थिक समृद्धिमा सहयोग गर्ने भन्ने खाका कोर्न सकिने औंल्याए ।

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा बनाएर नेपाली जनतालाई समृद्धिको दिशातर्फ अग्रसर हुन आव्हान गरेको सन्दर्भमा नेपाली अर्थतन्त्रको एउटा खम्बा सहकारीको माध्यमबाट अनेकन कामहरु गरेर नेपालीलाई समृद्धि दिलाउन सकिने उनको भनाई छ ।

सो कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष टसबहादुर प्रधानले कर्णाली साकोसले हरेक शाखालाई विशेष पहिचानयुक्त बनाउने तथा सम्बन्धित स्थानीय तहको सरकारसँग समन्वय र साझेदारीमा काम गर्ने योजना बनाएको जानकारी गराए ।

आजदेखि केही दिन संस्थाको सदस्य बन्न चाहाने कचनकवलका स्थानीयलाई प्रवेश शुल्क नलिई खाता खोल्ने सुविधा प्रदान गरिएको पनि अध्यक्ष प्रधानले सो कार्यक्रममार्फत् अवगत गराए ।

संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको शाखा कार्यालय उद्घाटन कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, वडाध्यक्ष कुलबहादुर कार्की तथा बनियानी क्याम्पसका प्रमुख मोति राजवंशीले शुभकामना मन्तब्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *