काठमाडौं हिडेका स्रष्टाहरु काँकरभिट्टामै सम्मानित
Published:
by .मेचीनगर । असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्ती मनाउन तथा राजधानी काठमाडौंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका पूर्वाेत्तर भारतका विभिन्न ठाउँका स्रष्टाहरुलाई बिहीबार काँकरभिट्टामा स्वागत तथा सम्मान गरिएको छ ।
भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको स्वागत तथा सम्मानसहित विदाई कार्यक्रममा बोल्ने अधिकांश स्रष्टाहरुले नेपाली साहित्य कला संस्कृतिको जर्गाेनाका लागि नेपाली साहित्यका पारखीहरुले जहाँ जहाँ बसेर भएपनि श्रीबृद्धिमा लाग्न जोड दिएका थिए ।
कला, साहित्य र संस्कृतिलाई कुनै पनि भूगोल र रेखाले छुट्याउन नसक्ने भन्दै उनीहरुले नेपाली भाषा साहित्य विश्वमै चर्चित रहेको पनि बताए ।
भानु भवनमा प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा भारत सरकारद्वारा नेपाली भाषाको योगदानको लागि प्रदान गर्ने साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत विक्रमबीर थापासहित भारत प्रवास संघ सिलोङका इञ्चार्ज तिल विश्वकर्मा छन् ।
टोलीमा डाक्टर टेकनारायण उपाध्याय, सिलोङ साहित्य परिषदका अध्यक्ष प्राध्यापक नरबहादुर राई, साहित्यकार नब सापकोटा, गोरेटो सोसियो कल्चरल एण्ड स्पोट वेलफेयरका महासचिव रोशन भण्डारी, शिक्षासेवी मुन्नी सापकोटालगायतले आफूहरुले भारतका विभिन्न ठाउँमै बसेर पनि नेपाली भाषा र साहित्यको उन्नति र प्रगतिका लागि महत्वपूर्ण योगदान गरेको बताएका थिए ।
हेमराज मेदनी प्रतिष्ठानका मेदनी खरेलले स्वागतमा भएको कार्यक्रमको सञ्चालन पत्रकार लक्ष्मी उप्रेतीले गरेका थिए ।
उक्त सम्मेलनमा भारतसहित बेलायत, अमेरिका, जापान, म्यानमार लगायत १५ देशका नेपाली भाषा साहित्यका विशिष्ट सर्जक र समीक्षक एवम् स्रष्टाहरुको सहभागिता हुनेछ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त सम्मेलनको नाम हिमव्त खण्ड कला साहित्य सम्मेलन भनिएको छ ।
Comments