दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।
“एउटा निहुँ झिकेर दुईजना सँसद ठिंग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भने, “नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुँदैन । दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन ।”
प्रधानमन्त्री ओलीले देश विकासका कुरा,जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताए । “हामी दुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा संसदमा जोडदार उठाउनुपर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नुपर्दछ,” प्रधानमन्त्री ओलीले भने ।
साँसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिना भित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए । “साउनभित्र पार्टी एकिकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन्,” प्रधानमन्त्री ओलीले भने,“अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ ।अब त्यो रोकिन्छ ।”
सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले दोहो¥याए । सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीले बताए ।
सांसदहरु कृष्णभक्त पोख्रेल, रामनारायण विडारी, पार्वत गुरुङ,बिरोध खतिवडा,महेश बस्नेत,कृष्णरज दाहाल,अन्जना बिशंखे,,बिमला पौडेल राई,सुजिता शाक्य,कृष्ण राई,हित बहादुर तामाङ,गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक बिषय, जिल्ला तथा क्षेत्रहरुमा उठेका विभिन्न समस्याहरु प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
– बाह्रखरी
Comments