बाह्रदशीका दलित जनप्रतिनिधिलाई सहजीकरण
Published:
by .चकचकी । बाह्रदशी गाउँपालिकाले दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई दुई दिने मानव अधिकार तथा हकहित प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ ।
जनप्रतिनिधिसहित दलित समुदायका अगुवालाई सहभागी गराइएको कार्यक्रममा समुदायको उत्थानको लागि आवश्यक सहजीकरण गरिएको छ । बिहीबारबाट शुरु भएको कार्यक्रम दुई दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।
सो कार्यक्रममा दलित समुदायले राज्यबाट प्राप्त गर्ने सेवा सुविधाका बारेमा जानकारी गराइँदै छ । जनप्रतिनिधिसहित अन्य सहभागीलाई जागरुक बनाउन कार्यक्रम आयोजना गरिएको कार्यपालिका सदस्य मिना सिन्चेउरीले जानकारी दिइन् । उनका अनुसार स्थानीय सरकारबाट नेतृत्व गर्ने जनप्रतिनिधि र अन्य सहभागीलाई सचेतनामुलक सहजीकरण गरेर कार्यक्षेत्रमा लाग्न प्रोत्साहन गरिने छ ।
कार्यक्रमको पहिलो दिन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले दलित समुदाय र स्थानीय सरकारका बारेमा सहजीकरण गरेका थिए । उनले दलित समुदायले उपलब्धिलाई संस्थागत गर्नुपर्ने र सामाजिक रुपमा नेतृत्व गर्नुपर्ने बताएका छन् । सहजीकरण गर्दै स्थानीय सरकारका काम कारबाहीमा दलित सहभागितालाई प्रभावकारी बनाउनुपर्ने जोड दिए ।
सो कार्यक्रममा पत्रकार प्रदीप परियारले सूचनाको हक, सञ्चार र दलित समुदायका बारेमा सहजीकरण गरेका छन् । उनले सार्वजनिक निकायलाई खबरदारी गर्न कानूनी रुपमै व्यवस्था भएको सूचनाको हक प्रयोग गर्न आग्रह गरेका छन् ।
स्थानीय सरकारका काम कारबाहीलाई पारदर्शी भए नभएको जाँच गर्न सूचनाको हक प्रभावकारी हुने उनको जिकिर छ । दलित समुदायले पाएको अधिकार कार्यान्वयन भए नभएको अध्ययन गर्न पनि सूचनाको हक प्रयोग गर्न मिल्ने उनले जानकारी दिएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले सबै समुदायको उत्थानका स्थानीय सरकार लागिरहेको जानकारी दिए । उनले सबै समुदायको उत्थान भएमा मात्र विकासको अनूभुति गर्न सकिने बताएका छन् ।
शुक्रबार कार्यक्रममा दलित समुदाय र उधमशिलता, संवैधानिक कानुनी अधिकार, नेतृत्व विकास र दलित आन्दोलनमा बुद्धिजीवीको भूमिकाबारेमा सहजीकरण गरिने छ । सहजीकरण हर्क विक, टिकाराम मंग्राती, सागर पोर्तेल र तिलक गजमेरले गर्ने छन् ।
Comments