Sajhamanch Archive

जय नेपाल साकोसको साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सहकारी क्षेत्रको भूमिका नीजि क्षेत्रको भन्दा बढी भएका कारण सदस्यको आकर्षण बढ्दै गएको बताएका छन् ।

‘पछिल्लो समय सहकारीमा सदस्यको आकर्षण बढेको छ’, जय नेपाल साकोसको सातौँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै जिल्ला संघका सचिव ढकालले कारोबारका हिसाबले सहकारीले नीजि क्षेत्रलाई पछि पारेको बताए ।

२०७२ सालदेखि वित्तीय कारोबार नगरी बन्द रहेको संस्थालाई ब्यँताएर नयाँ समितिले कुशल व्यवस्थापनका साथ अघि बढाएको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि ढकालले अहिले संस्था सानो छ भनेर मन सानो नगर्न सदस्यलाई आग्रह गरे । ढकालले भने, ‘सदस्यहरुले संस्थामा ढुक्क भएर कारोबार गरे हुन्छ ।’

ढकालले देशको नेतृत्वदायी निकायमा पनि महिला नै भएकोले महिला टीमको सक्रियतामा संस्था थप मजबुत भएर जाने विश्वास व्यक्त गरे ।

जिल्ला सहकारी संघका सदस्य कृष्णप्रसाद मिश्रले विगत लामो समयदेखि बन्द अवस्थामा रहेको जय नेपाल साकोस २ वर्षदेखि महिलाहरुको टीमले सक्रियताका साथ सञ्चालनमा ल्याएको भन्दै प्रशंसा गरे ।

वित्तीय कारोबार ठप्प रहेको संस्थालाई सञ्चालनमा ल्याई नाफा कमाउन सफल हुनु सहकारीको सकारात्मक पक्ष रहेको मिश्रले बताए । बिर्तामोड ५ मा दुईवर्षदेखि सञ्चालित जय नेपाल सहकारीको सञ्चालक समिति र लेखा समितिमा सबै महिला सदस्य छन् ।

संस्थाका अध्यक्ष यसोदा निरौलाको सभापतित्वमा सम्पन्न साधारणसभामा उत्कृष्ट बचतकर्ता चेतनाथ पौडेल र असल ऋणीको रुपमा कुसुम राईलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । पुस्कृतद्वयलाई प्रमुख अतिथि ढकाल र संस्थका अध्यक्ष निरौलाले सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

गत असार मसान्तमा ८३ जना शेयर सदस्य रहेको संस्थाको १५ लाख ८० हजार २०० रुपैयाँ शेयर पुँजी हुनका साथै ५४ लाख ४७ हजार २७१ रुपैयाँ ७४ पैसा बचत संकलन गरेको छ ।
८८ लाख २७ हजार २० रुपैयाँ ५५ पैसा ऋण लगानीमा रहिरहेको संस्थाले आगामी आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने जनाएको छ ।

सञ्चालक समतिको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष निरौलाले आगामी आर्थिक वर्षमा ३ लाख रुपैयाँ खुद आम्दानी गर्ने लक्ष राखेको संस्थाले गत असार मसान्तमा ३५ हजार ९९० रुपैयाँ ३० पैसा नाफा कमाएको जानकारी दिइन् ।

संस्थाका व्यवस्थापक गोपिन पोखरेलले सञ्चालन गरेको कार्यक्रममा लेखा समिति सदस्य नर्वदा अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *